Dhulikhel Eco Banner new

युस्टाकियोको अन्तिम मिनेटको गोलले क्यानडा विश्वकपको अन्तिम १६ मा

1.33K
shares

फिफा विश्वकप २०२६ मा क्यानडाले ऐतिहासिक उपलब्धि हात पारेको छ। कप्तान स्टेफेन युस्टाकियोको इन्जुरी समयको दोस्रो मिनेटमा गरेको गोलको बदौलत क्यानडाले दक्षिण अफ्रिकालाई १–० ले पराजित गर्दै पहिलोपटक विश्वकपको नकआउट चरण प्रवेश गरेको हो।

लस एन्जलसमा आइतबार खेलिएको यो मुकाबला निर्धारित ९० मिनेटसम्म गोलरहित रह्यो। दुवै टोलीले अवसर सिर्जना गरे पनि गोलरक्षक रोनवेन विलियम्सलगायत दक्षिण अफ्रिकाका खेलाडीहरूले क्यानडाका प्रहारहरू रोक्न सफल भए।

खेलको ७५औँ मिनेटमा स्टार खेलाडी अल्फोन्सो डेभिस मैदानमा आएपछि क्यानडाको आक्रमण झन् आक्रामक बन्यो। अन्ततः इन्जुरी समयमा पेनाल्टी क्षेत्र बाहिरबाट युस्टाकियोले गरेको शक्तिशाली प्रहारले जाली चुम्यो र क्यानडालाई निर्णायक जित दिलायो। उत्कृष्ट प्रदर्शनका कारण युस्टाकियो ‘प्लेयर अफ दि म्याच’ घोषित भए।

तेस्रोपटक विश्वकपमा सहभागी क्यानडाले यसअघि कहिल्यै समूह चरण पार गरेको थिएन। अब क्वार्टरफाइनलका लागि उनीहरू नेदरल्यान्ड्स र मोरक्कोबीचको विजेतासँग भिड्नेछन्।

पराजित भए पनि दक्षिण अफ्रिकाले यस विश्वकपमा पहिलोपटक नकआउट चरण प्रवेश गरेर इतिहास रचेको थियो। टोलीका ७४ वर्षीय प्रशिक्षक ह्युगो ब्रुस विश्वकपको नकआउट चरणमा नेतृत्व गर्ने सबैभन्दा पाका प्रशिक्षक बन्न पुगे।