असार १५ गते ७५ लाख लिटर दही खपत भई १ अर्ब रुपैयाँको कारोबार हुने अनुमान
वि.सं.२०८३ असार १५ सोमवार १२:३८
shares

काठमाडौं, १५ असार । राष्ट्रिय धान दिवस तथा असार १५ को अवसरमा देशभर करिब ७५ लाख लिटर दही खपत भई १ अर्ब रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ ।
असार १५ मा दही–चिउरा खाने परम्परा केवल सांस्कृतिक अभ्यास मात्र नभई नेपाली कृषि अर्थतन्त्र र स्वदेशी उत्पादनको प्रवद्र्धनका लागि महत्त्वपूर्ण अवसर हो । यो खपतले दूध उत्पादक किसान, दुग्ध सहकारी संस्था, डेरी उद्योग तथा समग्र दुग्ध मूल्य शृङ्खलामा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।
दैनिक ७६ लाख लिटर दूध उत्पादन हुने दुग्ध क्षेत्रमा करिब ६ लाख किसान परिवार आबद्ध छन् ।
दुग्ध क्षेत्रले नेपालको कृषि कुल गार्हस्थ्य उत्पादनमा उल्लेखनीय योगदान पु¥याउनुका साथै हजारौँलाई प्रत्यक्ष एवं अप्रत्यक्ष रोजगारी प्रदान गरेर ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाएको छ ।
नेपाली समाजमा परम्परागत रूपमा प्रयोग गरिने दही र मोहीको पोषणमूलक महत्त्व रहेको छ । दहीमा उच्च गुणस्तरको प्रोटिन, क्याल्सियम, फस्फोरस, र भिटामिन बी–१२ जस्ता पोषक तत्त्वहरू पाइन्छन्, जसले पाचन प्रणाली र रोग प्रतिरोधात्मक क्षमतालाई सुदृढ बनाउँछन् ।



















