Dhulikhel Eco Banner new

अवरोध हटेपछि भारततर्फ नेपाली चियाको निर्यात पुनः सुचारु

1.24K
shares

भारतले गुणस्तर परीक्षणका नाममा गर्दै आएको कडा अवरोध हटेसँगै झन्डै दुई महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुनः सुरु भएको छ। नेपाल सरकारको निरन्तर कूटनीतिक पहलपछि भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (एफएसएसएआई) ले परीक्षण मापदण्डलाई खुकुलो बनाएको हो। यससँगै पूर्वी नाका काँकडभिट्टाबाट चियाका ट्रकहरू भारत प्रवेश गर्न थालेका छन्।

यसअघि गत वैशाख १८ गतेदेखि भारतले नेपालबाट जाने प्रत्येक चियाको खेपमा अनिवार्य नमुना परीक्षणको नियम लगाएपछि निकासी पूर्ण रूपमा ठप्प बनेको थियो। सीमा क्षेत्र पानीट्यांकीमा प्रयोगशाला नहुँदा नमुना कोलकाता पठाउनुपर्ने बाध्यताले व्यवसायीले सास्ती खेपेका थिए। तर, अहिले भारतीय पक्षले प्रत्येक पाँच खेपमध्ये एक खेपको मात्र छड्के (र्‍यान्डम) परीक्षण गर्ने गरी नयाँ व्यवस्था लागू गरेपछि सोमबार अर्थोडक्स चिया बोकेका दुई ट्रकले पानीट्यांकी भन्सार पार गरेका छन्।

निकासी रोकिँदा झापा र इलामका करिब ९५ वटा चिया उद्योग नराम्ररी प्रभावित भएका थिए। इलामका गोदामहरूमा मात्रै १२ लाख किलोभन्दा बढी अर्थोडक्स चिया थन्किएको थियो। धेरै उद्योगहरूले त आफ्नो उत्पादन नै रोक्न बाध्य भएका थिए। सरकारले मन्त्रिपरिषद्कै तहबाट चासो देखाएर भारतसँग प्राविधिक र कूटनीतिक संवाद बढाएपछि यो निकास निस्किएको हो।

हाल पहाडी भेगमा उत्पादित अर्थोडक्स चियाको निर्यात सुरु भएर उद्योगीले केही राहत महसुस गरे पनि तराईको सिटिसी चियाको व्यापार भने पूर्ण रूपमा सहज भइसकेको छैन। नाकामा अझै पनि आफ्नै प्रयोगशाला नहुनु र छड्के परीक्षणको प्रक्रियागत झन्झट बाँकी नै रहेकाले चिया निर्यातको दीर्घकालीन सहजतामा भने व्यवसायीहरू अझै पूर्ण विश्वस्त हुन सकेका छैनन्।