एम्बाप्पेको कीर्तिमानसँगै फ्रान्स अन्तिम १६ मा, नर्वेको ऐतिहासिक सफलता
वि.सं.२०८३ असार १७ बुधवार ०७:००
shares

फिफा विश्वकप २०२६ अन्तर्गत किलियन एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा फ्रान्सले स्विडेनलाई ३–० गोलअन्तरले पाखा लगाउँदै अन्तिम १६ (प्रि–क्वाटरफाइनल) को यात्रा तय गरेको छ। उता, अर्को खेलमा एर्लिङ हालान्डको निर्णायक गोलको मद्दतले आइभरी कोस्टलाई २–१ ले स्तब्ध पार्दै नर्वेले २८ वर्षपछि विश्वकपको नकआउट चरण पार गर्ने ऐतिहासिक सफलता हात पारेको छ।
न्युयोर्कमा बुधबार बिहान सम्पन्न खेलमा फ्रान्सलाई एकतर्फी जित दिलाउन एम्बाप्पेले दुई तथा ब्राड्ली बारकोलाले एक गोल गरे। यस खेलसँगै एम्बाप्पेले विश्वकप इतिहासमा आफ्नो व्यक्तिगत गोल संख्या १८ पुर्याएका छन्। जर्मनीका मिरोस्लाभ क्लोजे (१६ गोल) लाई पछि पारेका उनी अब सर्वकालीन सर्वाधिक गोलकर्ता लियोनेल मेसीभन्दा मात्र एक गोलले पछाडि छन्। साथै, नकआउट चरणमा सर्वाधिक १० गोल गर्ने नयाँ कीर्तिमान रचेका एम्बाप्पे जारी विश्वकपमा पनि ६ गोलसहित मेसीसँगै ‘गोल्डेन बुट’ को दौडमा शीर्ष स्थानमा छन्।
यता, सन् १९९८ पछि पहिलो पटक विश्वकपको नकआउट चरणको तगारो काट्ने क्रममा नर्वेका लागि एन्टोनियो नुसा र हालान्डले गोल गरे। खेल १-१ को बराबरीमा चलिरहेका बेला ८६औं मिनेटमा हालान्डले गरेको गोल नै नर्वेलाई ऐतिहासिक जित दिलाउन पर्याप्त बन्यो। आइभरी कोस्टका लागि अमाद डियालोले सान्त्वना गोल फर्काए। हालान्डको यो जारी प्रतियोगितामा पाँचौं तथा देशका लागि समग्रमा ६०औं अन्तर्राष्ट्रिय गोल हो।
अब क्वाटरफाइनल प्रवेशका लागि आगामी जुलाई ४ मा फ्रान्सले पाराग्वेको सामना गर्नेछ। त्यसैगरी, उच्च मनोबलमा रहेको नर्वेले बलियो प्रतिद्वन्द्वी ब्राजिलसँग कडा प्रतिस्पर्धा गर्नेछ।



















