Dhulikhel Eco Banner new

असारभित्र ७ करोड ४६ लाख कित्ताभन्दा बढी शेयरको लकइन सकिने

1.25K
shares

काठमाडौं, १८ असार । बजारमा धितोपत्रको खरीद माग कम भइरहेका वेला असार मसान्तभित्र ४ ओटा कम्पनीको ७ करोड ४६ लाख ८२ हजारभन्दा बढी कित्ता शेयरको लकइन खुल्ने भएको छ ।

थ्रीस्टार र अप्पर स्याङ्गे हाइड्रोपावर तथा आइएमई लाइफ इन्स्योरेन्स र घोराही सिमेन्टको संस्थापक, स्थानीय र कर्मचारीतर्फको गरी उल्लेखित कित्ता शेयर असार १९ गतेदेखि ३१ गतेसम्म बजारमा कारोबारयोग्य हुनेछन् । लकइन अवधि खुलेपछि बजारमा धितोपत्रको आपूर्ति बढ्ने हुँदा मूल्य घट्ने सम्भावना रहन्छ ।

छोटो अवधिभित्र चार कम्पनीको ठूला मात्रामा शेयर कारोबारयोग्य हुँदा बजारमा विक्री चाप बढ्ने चिन्ता लगानीकर्ता नयन बास्तोलाको छ । अहिले बजारमा माग सृजना हुन नसकेको अवस्थामा ठूलो संख्यामा शेयरको लकइन खुला हुँदा बजार थप तल झर्ने सम्भावना रहने उनको भनाइ छ ।

बजारमा एक्कासि उच्च आपूर्ति हुन नदिने लकइन अवधि सकिएपछि पनि संस्थापकतर्फको सम्पूर्ण शेयरमध्ये ५१ प्रतिशत शेयर कायम रहने गरी बाँकी मात्र तत्काल बजारमा लान पाउने व्यवस्था गरे माग र आपूर्ति व्यवस्थित गर्न सहज हुने उनको तर्क छ ।

असार मसान्तको दबाबबीच कम्पनीको ठूलो शेयर अंश बोकेका संस्थापक शेयर कारोबारयोग्य हुँदा विक्री चाप स्वाभाविक रूपमा बढ्न सक्छ । आपूर्तिको चापले बजारमा पार्ने असर नियन्त्रण गर्न नियामकले पनि आवश्यक कदम चाल्नुपर्ने उनको राय छ ।

सम्बन्धित कम्पनीले लकइन खुला हुनुभन्दा एक महीनाअघि नै सार्वजनिक गरेको सूचनाका आधारमा थ्रीस्टार हाइड्रोपावरको ४२ लाख १ हजार २५ कित्ता शेयर असार १९ गतेपछि कारोबारयोग्य हुनेछ । यी शेयर २०८० असार १९ गतेदेखि तीन वर्षसम्म लकइनमा छन् ।

थ्रीस्टार हाइड्रोपावरको कुल कित्ता शेयरमध्ये संस्थापकसँग ३६ लाख ९३ हजार ७५०, आयोजना प्रभावित स्थानीयसँग ४ लाख ९२ हजार ५०० र कर्मचारीसँग १४ हजार ७७५ कित्ता छ ।

त्यस्तै असार २१ गतेपछि अप्पर स्याङ्गे हाइड्रोपावरको १५ लाख ६३ हजार कित्ता शेयरको लकइन सकिनेछ । यसको कुल कित्ता शेयरमा संस्थापकसँग १३ लाख ३० हजार, आयोजना प्रभावित स्थानीयसँग २ लाख २० हजार र कर्मचारीसँग १३ हजार कित्ता छ । अप्पर स्याङ्गेको उक्त शेयर २०८० असार २२ गतेदेखि लकइनमा छ ।

२०८० असार ३० गतेदेखि लकइनमा रहेको आइएमई लाइफ इन्स्योरेन्सको २ करोड ८६ लाख कित्ता शेयर असार ३० गतेपछि कारोबारमा आउनेछ । आइएमई लाइफको लकइनमा रहेको कुल कित्तामा २ करोड ८० लाख संस्थापकतर्फको र ६ लाख कित्ता कर्मचारीतर्फको छ ।

असारमा लकइन खुला हुने सबैभन्दा बढी कित्ता शेयर घोराही सिमेन्टको छ । २०८० साल असार ३१ गतेदेखि लकइनमा रहेको घोराही सिमेन्टको कुल कित्ता शेयरमध्ये ४ करोड १ लाख ९५ हजार ६३४ संस्थापकतर्फको छ । त्यस्तै उद्योग प्रभावित स्थानीयतर्फ २४ हजार ७०५ र कर्मचारीतर्फ ९७ हजार ७७२ कित्ता छ ।

सर्वसाधारणमा आईपीओ बाँडफाँट भएको मितिले संस्थापक, आयोजना प्रभावित स्थानीय र कर्मचारीतर्फको शेयर तीन वर्षसम्म र सामूहिक लगानी कोषतर्फको शेयर ६ महीनासम्म लकइनमा रहने व्यवस्था छ । कम्पनीको शेयर सूचीकृत भएपछि एकैपटक विक्री चाप नहोस् भन्ने उद्देश्यले लकइनको व्यवस्था गरिएको हो ।