Dhulikhel Eco Banner new

हालान्डको दुई गोलमा ब्राजिल स्तब्ध, नर्वे पहिलो पटक क्वार्टरफाइनलमा

884
shares

न्युयोर्क–न्यु जर्सी — एर्लिङ हालान्ड निर्णायक बनेपछि नर्वेले पाँच पटकको विश्वकप विजेता ब्राजिललाई २–१ ले पराजित गर्दै फिफा विश्वकपको क्वार्टरफाइनलमा ऐतिहासिक स्थान सुरक्षित गरेको छ।

आइतबार राति भएको अन्तिम १६ को प्रतिस्पर्धामा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलको सुरुआतमै नर्वेले गोलको अवसर पाए पनि प्याट्रिक बर्गको प्रयास भिडियो सहायक रेफ्रीले अफसाइड ठहर गरेपछि मान्य भएन।

त्यसपछि ब्राजिलले बल पोजेसनमा पकड जमाउँदै खेल आफ्नो पक्षमा ल्याउने प्रयास गरेको थियो। पहिलो हाफमै ब्राजिलले पेनाल्टीमार्फत अग्रता लिने अवसर पाए पनि ब्रुनो गिमारेस गोल गर्न चुके। नर्वेका गोलरक्षकले उत्कृष्ट बचाउ गर्दै टोलीलाई खेलमा कायम राखे।

दोस्रो हाफमा दुवै टोलीले आक्रामक रणनीति अपनाए पनि निर्णायक मोड अन्तिम समयतिर आयो। ७९औँ मिनेटमा एन्ड्रियास स्केल्डेरुपको क्रसमा हालान्डले हेडमार्फत गोल गर्दै नर्वेलाई अग्रता दिलाए।

त्यसको केही समयपछि हालान्डले व्यक्तिगत कौशल देखाउँदै बक्सबाहिरबाट शक्तिशाली प्रहार गरे। उनको दोस्रो गोलसँगै नर्वे २–० ले अघि बढ्यो। दुवै गोलमा स्केल्डेरुपको भूमिका निर्णायक रह्यो।

ब्राजिलले इन्जुरी समयमा खेलमा फर्कने प्रयास गरेको थियो। भिडियो समीक्षा पछि पाएको पेनाल्टीलाई नेयमारले गोलमा परिणत गरे पनि त्यो गोल हार टार्न पर्याप्त भएन।

यो नतिजासँगै ब्राजिलको विश्वकप यात्रा अन्तिम १६ मै समाप्त भएको छ। सन् १९९० यता ब्राजिल पहिलो पटक क्वार्टरफाइनल पुग्न असफल भएको हो।

नर्वेका लागि भने यो जित ऐतिहासिक बनेको छ। विश्वकप इतिहासमा पहिलो पटक अन्तिम आठमा पुगेको नर्वेले अब सेमिफाइनल प्रवेशका लागि इंग्ल्यान्ड र मेक्सिकोबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।