Dhulikhel Eco Banner new

सेबोन अध्यक्ष भट्टलाई पूँजीबजार लगानीकर्ता संघको बधाई

949
shares

काठमाडौं । नेपाल पूँजीबजार लगानीकर्ता संघले नेपाल धितोपत्र बोर्ड ९सेबोन० को अध्यक्षमा नियुक्त डा. गोपालप्रसाद भट्टलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ ।

संघले डा. भट्टको नेतृत्वमा नेपाली पूँजीबजारले सुधार, स्थायित्व र विश्वसनीयताको नयाँ चरणमा प्रवेश गर्ने विश्वास व्यक्त गरेको छ । बधाई तथा शुभकामना पत्रमार्फत संघले पूँजीबजारलाई पारदर्शी, प्रतिस्पर्धी, प्रविधिमैत्री र अन्तर्राष्ट्रिय मापदण्डअनुरूप विकास गर्न सक्षम नेतृत्व आवश्यक रहेको जनाएको छ ।

संघका अनुसार नेपालको पूँजीबजार राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा विकास हुँदै गएको छ । यस्तो अवस्थामा सेबोनजस्तो नियामक संस्थाको नेतृत्व सम्हाल्नु डा. भट्टका लागि महत्वपूर्ण जिम्मेवारी भएको संघले उल्लेख गरेको छ ।

संघले डा. भट्टको अनुभव, स्पष्ट दृष्टिकोण र दूरदर्शी नेतृत्वले नेपाली पूँजीबजारलाई थप व्यवस्थित र सबल बनाउन सहयोग पुर्‍याउने अपेक्षा गरेको छ । पूँजीबजारलाई केवल सेयर कारोबारको माध्यमका रूपमा नभई राष्ट्रिय बचतलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने महत्वपूर्ण वित्तीय पूर्वाधारका रूपमा लिनुपर्ने संघको भनाइ छ ।

उद्योग–व्यवसायका लागि दीर्घकालीन वित्तीय स्रोत सुनिश्चित गर्न, लगानीकर्ताको विश्वास बढाउन र आर्थिक विकासलाई गति दिन पूँजीबजारको भूमिका महत्वपूर्ण रहेको संघले जनाएको छ । त्यसका लागि नियामक निकायका रूपमा सेबोन अझ प्रभावकारी, सक्रिय र दूरदर्शी हुनुपर्नेमा संघले जोड दिएको छ ।

लगानीकर्ताले सेबोनलाई अभिभावकीय संस्थाका रूपमा अनुभूति गर्न सक्ने वातावरण निर्माण गर्नुपर्ने संघको अपेक्षा छ । पारदर्शिता, सुशासन, नीतिगत स्पष्टता, सुदृढ नियमन र लगानीमैत्री वातावरणमार्फत बजारमा विश्वास तथा स्थायित्व कायम गर्नुपर्ने संघले जनाएको छ ।

संघले पूँजीबजारको पहुँच देशका सबै क्षेत्रमा विस्तार हुने, लगानीकर्ताको हकहित संरक्षण हुने र राष्ट्रिय आर्थिक समृद्धिमा पूँजीबजारको योगदान अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गरेको छ ।

डा. भट्टको कार्यकाल सफल, परिणाममुखी र ऐतिहासिक बन्ने शुभकामना व्यक्त गर्दै संघले पूँजीबजार सुधारका अभियानमा आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धतासमेत जनाएको छ ।