युनाइटेड अजोडको अवितरित हकप्रद शेयर लिलामीमा
वि.सं.२०८३ असार २४ बुधवार ११:०४
shares

काठमाडौं, २४ असार । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहतर्फको अवितरित ६३ हजार ८४७ कित्ता हकप्रद शेयर लिलामीमा राखेको छ।
कम्पनीले उक्त अवितरित शेयर यसअघि जेठ २९ गतेदेखि असार ८ गतेसम्म लिलामीमा राख्दा विद्यमान संस्थापक शेयरधनीहरूबाट दरखास्त प्राप्त हुन नआएपछि सबैले किन्न पाउने गरी पुनः लिलामीमा राखेको हो।
यसमा भोलि असार २५ गतेदेखि साउन १ गते शुक्रबार बैंकिङ्ग समयसम्म आफूले किन्न चाहेको शेयर संख्या र सोको मूल्य समेत खुलाई गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ। शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ भने बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता र सोभन्दा बढीमा १० ले भाग जाने संख्यामा वा सम्पूर्ण कित्ता माग गर्न सक्नेछन्।
बोलपत्र फाराम कमलपोखरीस्थित एलएस क्यापिटल (बिक्री प्रबन्धक)का साथै लक्ष्मी सनराइज बैंकका विराटनगर–हनुमानदास सडक, वीरगञ्ज–आदर्शनगर, जनकपुर–भानुचोक, हेटौंडा–पारिजात पथ, नारायणघाट–बालकुमारी चोक, पोखरा–न्यूरोड, बुटवल–मिलनचोक, नेपालगञ्ज–न्यूरोड, वीरेन्द्रनगर–वीरेन्द्रचोक र धनगढी–शहीदगेट स्थित शाखा कार्यालयमा प्राप्त गर्न र बुझाउन सकिनेछ।



















