Dhulikhel Eco Banner new

राहदानी विभागको प्रणाली स्तरोन्नतिः २५ र २६ गते नियमित सेवा बन्द, राहदानी वितरण भने सुचारु

689
shares

काठमाडौं, २४ असार । राहदानी विभागले आफ्नो सेवा प्रवाहलाई नयाँ प्रणालीमा लैजाने तयारी गरेसँगै आगामी दुई दिन नियमित सेवाहरू बन्द रहने भए पनि अन्य सेवाहरू सुचारु राख्ने बताएका छन् । विभागले बुधवार सूचना जारी गर्दै असार २५ र २६ गते राहदानी सम्बन्धी नियमित सेवाहरू स्थगित हुने र विभागमा तयार भइसकेका राहदानी वितरण कार्य भने सुचारु हुने जानकारी दिएको छ ।

विभागका अनुसार, असार २९ गतेदेखि हालको प्रणालीबाट नयाँ प्रणालीमा पूर्ण रूपमा जाने तयारी भइरहेको हो । सोही प्रणाली स्तरोन्नतिको कामलाई मध्यनजर गर्दै असार २५ र २६ गते सेवाहरू बन्द गरिन लागिएको विभागले जनाएको छ ।

विभागले सूचनामा आफ्नो मोबाइलमा राहदानी सङ्कलनका लागि जानकारीमूलक सन्देश प्राप्त गरिसकेका सेवाग्राहीहरूलाई सो अवधिमा विभागमा सम्पर्क गरी आफ्नो राहदानी लिन अनुरोध पनि गरेको छ ।

नयाँ प्रणाली कार्यान्वयनमा आएसँगै सेवा थप प्रभावकारी, सुरक्षित र सेवाग्राहीमैत्री हुने विभागले जनाएको छ । विभागले यसअघि नै असार १९ गते सूचना जारी गरी सेवा अवरुद्ध हुनेबारे जानकारी गराइसकेको थियो ।