Dhulikhel Eco Banner new

देशभर मनसुन सक्रिय, विभिन्न क्षेत्रमा वर्षा जारी

650
shares

काडमाडौं, २५ असार । हाल देशभर मनसुनी वायु सक्रिय रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी तथा पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास रहेकाले देशभर वर्षाको गतिविधि बढेको छ।

बिहीबार बिहान सातै प्रदेशका विभिन्न स्थानमा छिटपुटदेखि हल्का तथा मध्यम वर्षा भइरहेको छ। पछिल्लो एक घण्टामा पाल्पाको हात्तीलुङमा २४.८ मिलिमिटर वर्षा मापन भएको छ। त्यसैगरी रुपन्देहीको सूर्यपुरामा १९ मिलिमिटर, तिलोत्तमामा ११.२ मिलिमिटर, दाङको तुलसीपुरमा १५.४ मिलिमिटर, सुखाबारेमा ११.४ मिलिमिटर, घोराहीमा ९.४ मिलिमिटर तथा नवलपरासीको बर्दघाटमा १९ मिलिमिटर र परासीमा ११.२ मिलिमिटर वर्षा भएको छ।

पछिल्लो २४ घण्टामा भने पाल्पामा सबैभन्दा बढी वर्षा रेकर्ड गरिएको छ। रामपुरमा १७२.८ मिलिमिटर, हात्तीलुङमा १६४ मिलिमिटर, बल्ढ्याङगढीमा १२२.८ मिलिमिटर, तानसेनमा ९३ मिलिमिटर, गण्डकोटमा ८०.२ मिलिमिटर वर्षा भएको छ। यस्तै अर्घाखाँचीमा ९०.४ मिलिमिटर र सिन्धुपाल्चोकको मानेखर्कमा ८१.८ मिलिमिटर वर्षा मापन गरिएको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार बिहीबार दिउँसो देशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान, साथै मधेश र कोशी प्रदेशको तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।

यस्तै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

रातिको समयमा पनि मौसम बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ।

त्यसैगरी मधेश प्रदेशका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थान र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ। साथै कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।