बीमा दाबी भुक्तानीमा समस्या परे प्राधिकरणमा उजुरी गर्न आह्वान
वि.सं.२०८३ असार ३० मंगलवार १४:३३
shares

काठमाडौं, ३० असार । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीमा कुनै समस्या आए वा बीमा सम्बन्धी प्रचलित कानुन तथा नियामकीय व्यवस्था विपरीत कार्य भएको पाइएमा प्रमाणसहित उजुरी गर्न सम्बन्धित सबै सरोकारवालालाई आह्वान गरेको छ।
प्राधिकरणले सोमबार सूचना जारी गर्दै बीमाको दायित्व निर्धारण तथा दाबी भुक्तानीका क्रममा केही बीमक, बीमकका कर्मचारी तथा बीमा सर्भेयरले कानुन, नियामकीय व्यवस्था र व्यावसायिक आचारसंहिता विपरीत कार्य गरेको भन्ने विषयमा विभिन्न गुनासो प्राप्त भइरहेको जनाएको छ।
सूचनाअनुसार कुनै बीमक, बीमकका कर्मचारी, बीमा सर्भेयर वा अन्य कुनै पक्षले सेवाग्राहीलाई दुःख दिएको, गलत विवरण तयार गरेको, तथ्य लुकाएको वा तोडमोड गरेको, पक्षपातपूर्ण मूल्याङ्कन गरेको, अनुचित लाभ लिएको वा अन्य कुनै कानुनविपरीत कार्य गरेको भए बीमा ऐन, २०७९ बमोजिम कारबाहीका लागि प्रमाणसहित उजुरी दिन सकिनेछ।
उजुरी गर्दा उजुरीकर्ताको नाम, ठेगाना, सम्पर्क नम्बर, सम्बन्धित बीमा कम्पनीको नाम, समस्याको विवरण, बीमा दाबी नम्बर, बीमालेख नम्बर तथा त्यसलाई पुष्टि गर्ने कागजात, फोटो, भिडियो वा अन्य प्रमाण संलग्न गर्नुपर्ने प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार उजुरी दर्ता शाखामा प्रत्यक्ष रूपमा दर्ता गर्न सकिनेछ। साथै इमेल वा हुलाकमार्फत नेपाल बीमा प्राधिकरण, केन्द्रीय कार्यालय, ललितपुर महानगरपालिका–१०, कुपण्डोल, ललितपुरको ठेगानामा समेत उजुरी पठाउन सकिने व्यवस्था गरिएको छ।
प्राधिकरणले प्राप्त हुने उजुरी र प्रमाणहरूको गोपनीयता कायम राख्दै बीमा ऐन, २०७९ तथा अन्य प्रचलित कानुनबमोजिम अनुसन्धान गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ।

















