Dhulikhel Eco Banner new

सुनसरी घटनाप्रति नाडाको गम्भीर चिन्ता, सबै पक्षलाई संयमता अपनाउन आग्रह

1.08K
shares

काठमाडौं, १५ साउन । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल ले पूर्वी नेपाल, विशेषगरी सुनसरीको कप्तानगञ्ज लगायत तराईका केही जिल्लामा पछिल्लो समय देखापरेका अशान्तिपूर्ण गतिविधि तथा हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै नाडाले नेपाल बहुधार्मिक, बहुभाषिक, बहुजातीय तथा बहुसांस्कृतिक पहिचान बोकेको राष्ट्र भएको उल्लेख गर्दै विविधताभित्रको एकता, सामाजिक सद्भाव, सहिष्णुता र भाइचारालाई देशको सबैभन्दा ठूलो शक्ति भएको जनाएको छ ।

नाडाले नेपालको संविधानले नागरिकलाई आफ्ना विचार, असहमति तथा मागहरू शान्तिपूर्ण र लोकतान्त्रिक माध्यमबाट अभिव्यक्त गर्ने मौलिक हक सुनिश्चित गरेको भए पनि हिंसात्मक गतिविधि, तोडफोड, अशान्ति तथा सामाजिक सद्भावमा खलल पुर्‍याउने कुनै पनि कार्य स्वीकार्य हुन नसक्ने स्पष्ट गरेको छ ।

विज्ञप्तिमा यस्ता घटनाले शान्ति–सुरक्षा र सामाजिक सद्भावमा मात्र नभई आम नागरिकको दैनिक जीवन, उद्योग–व्यवसाय, लगानी, आर्थिक गतिविधि तथा समग्र राष्ट्रिय अर्थतन्त्रमा समेत प्रतिकूल प्रभाव पार्ने उल्लेख गरिएको छ । विशेषगरी व्यवसायिक वातावरणमा पर्ने असरप्रति सम्पूर्ण व्यवसायी समुदाय चिन्तित रहेको नाडाको भनाइ छ ।

नाडाले सबै सम्बन्धित पक्षलाई संयमता अपनाउन तथा कानुनी र लोकतान्त्रिक प्रक्रियामार्फत संवाद र आपसी समझदारीका आधारमा समस्याको शीघ्र समाधान खोज्न आग्रह गरेको छ ।

त्यस्तै, नेपाल सरकार तथा सम्बन्धित निकायलाई शान्ति–सुरक्षा, नागरिकको जनधनको संरक्षण र सामान्य जनजीवनसँगै व्यवसायिक वातावरणलाई यथाशीघ्र सहज बनाउन आवश्यक पहल गर्न अनुरोध गरेको छ ।

विज्ञप्तिको अन्त्यमा नाडाले सम्पूर्ण नेपाली नागरिकलाई सामाजिक सद्भाव, राष्ट्रिय एकता, आपसी सम्मान र सहिष्णुतालाई थप सुदृढ बनाउन आ–आफ्नो स्थानबाट सकारात्मक भूमिका निर्वाह गर्न अपिल गरेको छ ।