सामुदायिक लघुवित्त अब केन्द्रीय स्तरको बन्ने, सञ्जीवनीसँग भयो मर्जर सम्झौता
KTM Voice
वि.सं.२०८३ साउन १९ मंगलवार १८:४३
13.94K shares
काठमाडौं, साउन १८ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र सञ्जीवनी लघुवित्त वित्तीय संस्था लिमिटेड बीच मर्जर (गाभ्ने–गाभिने) प्रक्रियालाई अघि बढाउने उद्देश्यले प्रारम्भिक सम्झौता (एमओयू) मा हस्ताक्षर भएको छ।
नेपाल राष्ट्र बैंकले मर्जर तथा प्राप्तिमार्फत वित्तीय संस्थालाई थप सबल, सक्षम र प्रतिस्पर्धी बनाउने नीतिअनुसार दुवै संस्थाबीच मंगलबार (२०८३ साउन १८ गते) प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको हो।
सम्झौताअनुसार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१४, साँगामा केन्द्रीय कार्यालय रहेको सामुदायिक लघुवित्त र दाङको तुलसीपुर उपमहानगरपालिका–५ मा केन्द्रीय कार्यालय रहेको सञ्जीवनी लघुवित्त एकीकृत हुने प्रक्रिया अघि बढेको छ।
हाल सामुदायिक लघुवित्तले कोशी प्रदेशका पाँच जिल्ला– संखुवासभा, भोजपुर, सोलुखुम्बु, ओखलढुंगा र खोटाङ तथा बागमती प्रदेशका केही क्षेत्रमा सेवा दिँदै आएको छ भने सञ्जीवनी लघुवित्त लुम्बिनी प्रदेशस्तरीय कार्यक्षेत्रमा सञ्चालनमा रहेको छ।
मर्जर सम्पन्न भएपछि एकीकृत संस्थाको नाम सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड नै रहनेछ भने यसको कार्यक्षेत्र राष्ट्रिय (केन्द्रीय) स्तरको हुनेछ। संस्थाको प्रधान कार्यालय भने बनेपा–१४, साँगा, काभ्रेपलाञ्चोकमै रहने सहमति भएको छ।
सम्झौताअनुसार मर्जरपछिको सञ्चालक समितिमा सात सदस्य रहनेछन्। जसमा सामुदायिक लघुवित्तका तर्फबाट संस्थापक शेयरधनीको प्रतिनिधित्व गर्ने तीन जना, सर्वसाधारण शेयरधनीका तर्फबाट दुई जना तथा एक स्वतन्त्र सञ्चालक रहनेछन्। सञ्जीवनी लघुवित्तका तर्फबाट संस्थापक शेयरधनीको प्रतिनिधित्व गर्ने एक जना सञ्चालक रहने व्यवस्था गरिएको छ।
दुवै संस्थाबीचको शेयर स्वाप रेसियो भने ड्यु डिलिजेन्स अडिट (डीडीए) को प्रतिवेदनका आधारमा तय गरिने जनाइएको छ।
दुवै संस्थाले मर्जरपछि पूँजीगत आधार, संस्थागत क्षमता, सेवा विस्तार तथा वित्तीय पहुँच अझ प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्। साथै, मर्जरबाट शेयरधनी, सदस्य, सेवाग्राही तथा अन्य सरोकारवालाले थप लाभ प्राप्त गर्ने अपेक्षा गरिएको छ।