एभरेष्ट बैंकको नाफा ५ अर्ब नाघ्यो, वितरणयोग्य मुनाफा पनि बढ्यो
वि.सं.२०८३ साउन २० बुधवार ०८:३१
shares

काठमाडौं — एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा ५ अर्ब ६ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफा ४.७५ प्रतिशतले बढेको हो। अघिल्लो वर्ष बैंकले ४ अर्ब ८३ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको थियो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९ अर्ब १० करोड रुपैयाँबाट बढेर ९ अर्ब १९ करोड रुपैयाँ पुगेको छ। ब्याज आम्दानीमा सामान्य वृद्धि भए पनि शुल्क तथा कमिसन आम्दानी भने २७.२३ प्रतिशतले बढेर १ अर्ब ९४ करोड ७२ लाख रुपैयाँ पुगेको छ। बैंकको कुल सञ्चालन आम्दानी ११ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ र सञ्चालन मुनाफा ७ अर्ब ३८ करोड ४४ लाख रुपैयाँ कायम भएको छ।
बैंकको वितरणयोग्य मुनाफा पनि बढेको छ। अघिल्लो वर्ष ४ अर्ब ५ करोड ४८ लाख रुपैयाँ रहेको वितरणयोग्य मुनाफा गत आर्थिक वर्षमा ४ अर्ब ५८ करोड १० लाख रुपैयाँ पुगेको हो। यस आधारमा बैंकको लाभांश वितरण क्षमता सुधारिएको देखिन्छ।
बैंकको प्रतिशेयर आम्दानी भने ३७ रुपैयाँ ३९ पैसाबाट घटेर ३६ रुपैयाँ ९५ पैसा कायम भएको छ। प्रतिशेयर नेटवर्थ २५६ रुपैयाँ ४७ पैसा रहेको बैंकको मूल्य–आम्दानी अनुपात १८.८१ गुणा छ। बैंकको सम्पत्तिमा प्रतिफल १.३६ प्रतिशत र इक्विटीमा प्रतिफल १५.१० प्रतिशत रहेको छ।
बैंकले कर्जा र निक्षेप दुवै विस्तार गरेको छ। कर्जा लगानी २ खर्ब १३ अर्ब ४३ करोड रुपैयाँबाट बढेर २ खर्ब ३५ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ भने ग्राहक निक्षेप ३ खर्ब १६ अर्ब १ करोड रुपैयाँ पुगेको छ। बैंकको चुक्ता पुँजी १३ अर्ब ७२ करोड १३ लाख रुपैयाँ र जगेडा कोष १५ अर्ब ७२ करोड ७८ लाख रुपैयाँ रहेको छ।
बैंकको निष्क्रिय कर्जा अनुपात ०.३८ प्रतिशतबाट बढेर ०.४९ प्रतिशत पुगे पनि बैंकिङ क्षेत्रको औसतको तुलनामा अझै न्यून छ। आधार दर भने ५.३६ प्रतिशतबाट घटेर ४.२५ प्रतिशतमा झरेको छ। ब्याजदर घटे पनि निजी क्षेत्रबाट अपेक्षाअनुसार कर्जाको माग नबढेको बैंकले जनाएको छ।
बैंकले एनएफआरएस–९ अनुसार अपेक्षित कर्जा नोक्सानी गणना गरे पनि नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार निर्धारण हुने कर्जा नोक्सानी रकम बढी भएकाले नियामकीय व्यवस्था नै कायम गरेको छ। ब्याज आम्दानी पहिचान, सञ्चित ब्याज, अवधि कर्जा तथा अन्य समायोजन पनि राष्ट्र बैंकको निर्देशनअनुसार गरिएको बैंकले जनाएको छ।
भारतको सरकारी स्वामित्वको पञ्जाब नेसनल बैंकले एभरेष्ट बैंकमा २०.०३ प्रतिशत संस्थापक सेयर स्वामित्व राखेको छ। उक्त बैंकको एभरेष्ट बैंकको सञ्चालक समितिमा समेत प्रतिनिधित्व रहेको छ।
बैंकले विप्रेषण, विदेशी मुद्रा सञ्चिति, पर्यटन र बाह्य क्षेत्रको सन्तुलनका कारण नेपालको अर्थतन्त्र तुलनात्मक रूपमा स्थिर रहेको उल्लेख गरेको छ। तर विश्वव्यापी भूराजनीतिक तनाव, साइबर अपराध, नियामकीय परिवर्तन, अधिक तरलता र कमजोर कर्जा मागलाई बैंकिङ क्षेत्रका प्रमुख चुनौतीका रूपमा औंल्याइएको छ।
आगामी दिनमा डिजिटल बैंकिङ, साइबर सुरक्षा, नयाँ वित्तीय सेवा, जोखिम व्यवस्थापन, कर्जा असुली र सम्पत्ति शुद्धीकरण निवारण प्रणालीमा लगानी बढाउने बैंकको योजना छ। बलियो पुँजी आधार, संस्थागत सुशासन र विविधीकृत व्यवसायका आधारमा दिगो वृद्धि कायम गर्ने बैंकले जनाएको छ।
















