एक हप्तामा ३६ अंकभन्दा बढीले घट्यो पुँजी बजार,नेप्से परिसूचक २ हजार तल
वि.सं.२०७९ असार २५ शनिवार १३:४८
shares

कठमाडौं, २५ असार । यो साता नेप्से परिसूचक ३६ अंकभन्दा बढीले ओरोलो लागेको छ । हप्तामा ४ दिन कारोबार ओरालो लागेको बजार हप्ताको अन्तिम दिन १९९२.६२ विन्दुमा पुगेर रोकिएको छ ।
अर्थमन्त्रीले राजीनामा दिएको यो साता नेप्सेमा निकै ठूलो पहिरो गएको हो । गत साता २०२८.७७ विन्दुमा कारोबार रोकिएको थियो । यो हप्ता अघिल्लो हप्ताकोभन्दा १.७८ प्रतिशतले घटेको हो । हप्तामा दुई दिन मात्रै कारोबार सकारात्मक देखिएको थियो । हप्ता दिन भरिमा आइतबार र बुधबार बजार बढेको थियो भने बाँकी दिनहरुमा उच्च अंकले ओरोलो लागेको थियो ।
त्यसैगरी, यस साता सेन्सेटिभ इण्डेक्स ८.७३ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.६४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.६९ अंक घटेको छ । यस साता नेप्से ओरालो लागेपनि कारोबार रकम भने केही बढेको छ । गत साता दैनिक औषतमा १ अर्ब ९४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको बजारमा यस साता २ अर्ब ७२ करोडको शेयर कारोबार भएको छ ।
गत साताको तुलनामा यस साताको कारोबार रकम ४०.४१ प्रतिशत बढी हो । त्यसैगरी, यस साता कारोबार भएको शेयर संख्या ३१.३५ प्रतिशत बढेको छ भने कुल कारोबार २०.०९ प्रतिशत बढेको छ । यस साता नेप्सेको कुल बजार पूँजीकरण आधा खर्ब घटेको छ ।
गत साता २८ खर्ब ९२ अर्ब रुपैयाँ रहेको यस्तो पँुजीकरण, यस साता ५० अर्ब रुपैयाँ घटेर २८ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ । यस साता १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ । यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक ७ प्रतिशत बढेको हो भने जलविद्युत उपसमूहको ०.९९ प्रतिशत बढेको छ ।
यता होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ५.२१ प्रतिशत घटेको छ । गत साता २७१९.०४ विन्दुमा रहेको यस उपसमूहको परिसूचक यस साता १४१.३१ अंक घटेर २५६८.७३ विन्दुमा झरेको छ । अंकका आधारमा यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १६७.०५ अंक घटेको छ ।
यस साता फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको २१ लाख ८९ हजार ३१७.३७ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ ।













