Dhulikhel Eco Banner new

नाइमा अटो शोमा शनिबार–आइतबार विशेष तयारी

806
shares

काठमाडौं, ३० साउन। काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पो २०२६ मा बिदाका दिन शनिबार र आइतबार दर्शकको चाप बढ्ने अपेक्षासहित आयोजकले विशेष तयारी गरेको छ। नाइमा का अनुसार मेलामा दैनिक औसत २५ हजार र अवधिभर करिब डेढ लाख दर्शक आउने अपेक्षा गरिएको छ।

दर्शकको सहजताका लागि पार्किङ व्यवस्थापनमा विशेष ध्यान दिइएको छ। सुरुवाती चार दिनमै पार्किङमा समस्या देखिएपछि शनिबार र आइतबार थप व्यवस्था गरिएको नाइमा ले जनाएको छ।

एक्स्पोका व्यवस्थापकीय साझेदार मिडिया स्पेस सोलुसन्सका अनुसार प्रदर्शनी सुरु हुनुअघि नै भृकुटीमण्डपको गेटमा दर्शकको लाइन लाग्ने गरेको छ। भक्तपुरका पुराना ठिमीका एक स्थानीय दर्शकले पनि यसपटक विगतका मेलाभन्दा निकै ठूलो भीड देखिएको बताए।

मेलामा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन प्रदर्शनमा छन्। विभिन्न कम्पनीले नयाँ मोडल सार्वजनिक गर्दै छुट, एक वर्षको बीमा, निःशुल्क सर्भिस र सहुलियतपूर्ण कर्जालगायतका अफर दिएका छन्। तेस्रो दिनसम्ममा १ लाख ८ हजारभन्दा बढी दर्शक मेलाको अवलोकन गरिसकेका छन्।

मेलामा विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधनप्रति विशेष आकर्षण देखिएको छ। साथै, ब्याट्री क्षमता, मोटर, रेन्ज, अफ्टर–सेल्स सर्भिस तथा वारेन्टी/ग्यारेन्टीबारे दर्शकले बढी चासो राखेका छन्।

एक्स्पोअन्तर्गत ‘नाइमा मोबिलिटी संवाद’ पनि आयोजना भइरहेको छ, जहाँ ब्याट्री रिसाइकलिङ, इथानोल ब्लेन्डिङ, फाइनान्स तथा इन्स्योरेन्स र लगानी लगायतका विषयमा छलफल भइरहेको छ।

नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको दोस्रो संस्करणको नाइमा मोबिलिटी एक्स्पो साउन ३१ गतेसम्म सञ्चालन हुनेछ। मेलामा स्वदेशी तथा विदेशी सवारीसाधन निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता रहेको छ।