एन्टिबायोटिकको जथाभावी प्रयोगले महामारीको जोखिम बढाउँदै, जनकपुरधाममा जनचेतना अभियान तीव्र
वि.सं.२०८३ साउन ३० शनिवार १६:४६
shares

काठमाडौं, ३० साउन । एन्टिबायोटिक औषधिको जथाभावी तथा अपूर्ण प्रयोगका कारण भविष्यमा गम्भीर स्वास्थ्य संकट निम्तिन सक्ने भन्दै जनकपुरधाममा एन्टिबायोटिकसम्बन्धी जनचेतना अभियानलाई तीव्रता दिइएको छ। चिकित्सक तथा स्वास्थ्य अभियन्ताहरूले एन्टिबायोटिकको गलत प्रयोग रोक्न नसके आगामी वर्षहरूमा औषधिले काम नगर्ने अवस्था बढ्दै जाने र त्यसले ठूलो जनस्वास्थ्य संकट निम्त्याउन सक्ने चेतावनी दिएका छन्।
काठमाडौंस्थित कल्किजम रिसर्च एण्ड ट्रेनिङ सेन्टरले करिब एक वर्षअघि नै एन्टिबायोटिकको सही प्रयोगबारे छलफल, गोष्ठी तथा प्रशिक्षण कार्यक्रममार्फत अभियान सुरु गरेको थियो। पछिल्लो समय मधेश प्रदेश सरकार, चिकित्सक तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंस्था र अभियन्ताहरू अभियानमा जोडिएपछि यसको प्रभावकारिता र दायरा थप विस्तार भएको हो।
स्वास्थ्यकर्मीहरूका अनुसार चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक सेवन गर्ने, आफूखुसी औषधि परिवर्तन गर्ने तथा चिकित्सकले तोकेको अवधिभन्दा अगावै औषधि सेवन गर्न छाड्ने प्रवृत्तिले एन्टिबायोटिक रेसिस्टेन्स (औषधि प्रतिरोध) बढाइरहेको छ। यस्तो अवस्था बढ्दै गएमा सामान्य संक्रमणको उपचारसमेत कठिन बन्न सक्ने उनीहरूको भनाइ छ।
अभियानका क्रममा एन्टिबायोटिकको प्रयोग गर्दा चिकित्सकको परामर्श लिनुपर्ने, तोकिएको मात्रा र अवधि पूरा गर्नुपर्ने तथा आफूखुसी औषधि सेवन गर्न नहुने सन्देश प्रवाह गरिएको छ।
यसअघि जनकपुरधाममा चर्चित कलाकार रेखा थापालगायतको सहभागितामा समेत अभियान सञ्चालन गरिएको थियो। पछिल्लो कार्यक्रममा मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सरकार तथा स्वास्थ्य मन्त्रालयको तर्फबाट अभियानलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति क्रमशः डा. अंकुर साह र डा. अजय मिश्रले एन्टिबायोटिकको विवेकपूर्ण प्रयोगसम्बन्धी अभियान जनताको स्वास्थ्य सुरक्षाका लागि महत्वपूर्ण रहेको बताए।
‘रोज कुरा गर्नु, रोज कुरा गर्नु, डाक्टरले भनेको डोज पूरा गर्नु’ भन्ने नाराका साथ सञ्चालन भइरहेको अभियानमा मधेश प्रदेशका चिकित्सक, मेडिकल कलेजका विद्यार्थी, प्रदेश सरकारका मन्त्रीहरू, स्वास्थ्यकर्मी, स्वास्थ्य अभियन्ता तथा विभिन्न क्षेत्रका अगुवाहरूको सहभागिता रहेको छ।
आयोजक तथा चिकित्सकहरूले एन्टिबायोटिकको जथाभावी प्रयोग तत्काल नियन्त्रण गर्न नसके भविष्यमा औषधि प्रतिरोधी संक्रमणको समस्या झन् भयावह बन्न सक्ने भएकाले आम नागरिकदेखि स्वास्थ्यकर्मी र सरकारी निकायसम्म सबैले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।
अभियानले विशेषगरी “डाक्टरको सल्लाहबिना एन्टिबायोटिक नखाऔँ, डाक्टरले दिएको डोज पूरा गरौँ” भन्ने सन्देशलाई जनस्तरसम्म पुर्याउने लक्ष्य राखेको छ।
















