Dhulikhel Eco Banner new

४९.९९ लाखमै सार्वजनिक भयो स्काईवेल बीई ११, यस्तो छ नाडा अफर

247
shares

काठमाडौं, ९ भदौ । लक्जरी चिनियाँ विद्युतीय सवारी ब्रान्ड ‘स्काईवेल’ नेपालमा औपचारिक रूपमा सार्वजनिक भएको छ । एलआरआर मोटर्सले नाडा अटो शो २०२६ को अवसर पारेर स्काईवेलको बीई ११ इलेक्ट्रिक एसयूभी नेपालमा सार्वजनिक गरेको हो ।

मंगलबारदेखि सुरु भएको नाडा अटो शोको अवसरमा कम्पनीले बीई ११ का विभिन्न भेरियन्ट सार्वजनिक गरेको छ । कम्पनीका अनुसार ४१० किलोमिटर रेन्ज दिने इन्ट्री भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

त्यस्तै, ४१० किलोमिटर रेन्ज दिने कम्फर्ट भेरियन्टको मूल्य ५५ लाख ९९ हजार, लक्जरी भेरियन्टको मूल्य ५६ लाख ९९ हजार र ५२० किलोमिटर रेन्ज दिने भेरियन्टको मूल्य ६४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

नाडा अटो शोमा विशेष छुट

कम्पनीले नाडा अटो शो अवधिभर बीई ११ मा विशेष अफरसमेत सार्वजनिक गरेको छ । अफरअन्तर्गत ४१० किलोमिटर रेन्ज दिने इन्ट्री भेरियन्ट ४६ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सकिनेछ ।

यस्तै, ४१० किलोमिटर रेन्जको कम्फर्ट भेरियन्टको अफर मूल्य ५३ लाख ९९ हजार, लक्जरी भेरियन्टको ५४ लाख ९९ हजार र ५२० किलोमिटर रेन्ज दिने भेरियन्टको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

यससँगै नाडा अटो शो अवधिमा बीई ११ को सुरुवाती मूल्य नियमित मूल्यभन्दा ३ लाख रुपैयाँ कममा उपलब्ध हुने भएको छ ।

५२० किलोमिटरसम्मको रेन्ज

कम्पनीका अनुसार बीई ११ मा दुई प्रकारका ब्याट्री विकल्प उपलब्ध छन् । ७१.९८ किलोवाट आवर क्षमताको एनएमसी ब्याट्री प्याक भएको भेरियन्टले एकपटक पूर्ण चार्ज गर्दा ५२० किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ ।

त्यस्तै, ५१.९१ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री प्याक भएको भेरियन्टले एकपटकको चार्जमा ४१० किलोमिटरसम्म रेन्ज दिने कम्पनीले जनाएको छ ।

बीई ११ मा १५० किलोवाट क्षमताको मोटर प्रयोग गरिएको छ । दुवै ब्याट्री विकल्पमा ८०० भोल्टको हाई–भोल्टेज आर्किटेक्चर रहेको छ, जसले फास्ट चार्जिङलाई सपोर्ट गर्ने कम्पनीको भनाइ छ ।

डिसी फास्ट चार्जरमार्फत बीई ११ लाई करिब ३५ मिनेटमा ७० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

लक्जरी फिचरले भरिपूर्ण

स्काईवेल बीई ११ मा पानारोमिक सनरुफ, ३६० डिग्री क्यामेरा, भेन्टिलेटेड सिट, पर्याप्त इन्टेरियर स्पेसलगायतका फिचर उपलब्ध छन् । आधुनिक बडी डिजाइनका कारण पनि बीई ११ आकर्षक देखिन्छ ।

यसमा १९८ मिलिमिटरको ग्राउण्ड क्लियरेन्स रहेको कम्पनीले जनाएको छ । उच्च ग्राउण्ड क्लियरेन्सका कारण नेपाली सडक तथा विभिन्न भू–भागमा गाडी चलाउन सहज हुने कम्पनीको दाबी छ ।

यसअघि सोमबार एलआरआर मोटर्सले नेपालमा स्काईवेल ब्रान्डको लोगो सार्वजनिक गरेको थियो । नाडा अटो शोमा स्काईवेलको स्टल ‘एच–१९’ मा राखिएको छ ।

बीई ११ को ४६ लाख ९९ हजार रुपैयाँको नाडा अफर मूल्यले यसलाई नेपालमा ५० लाख रुपैयाँभन्दा कम मूल्यमा उपलब्ध हुने प्रिमियम इलेक्ट्रिक एसयूभीमध्ये एक बनाएको छ ।