चालु खाता घाटा टाउको दुखाइकाे विषय बन्याे : गभर्नर अधिकारी
वि.सं.२०७९ असार २७ सोमवार ०८:५२
shares

काठमाडौं, २७ असार। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको असर समग्र मूल्य वृद्धिमा देखिएको बताएका छन् । प्रतिनिधिसभाको अर्थ समितिमा बोल्दै गभर्नर अधिकारीले पछिल्लो समय पेट्रोलियम पदार्थमा मूल्य वृद्धि धेरै बढेको र यसको असर अन्य खाद्य तथा गैर खाद्यको समेत मूल्य वृद्धि बढेको बताए ।
बाह्य क्षेत्रको दवावकै कारण अहिले अर्थतन्त्रमा केही समस्या देखिएको बताए । आयातमा भइरहेको वृद्धिको असर बाह्य क्षेत्रमा परेको उनको विश्लेषण छ । तर यो समस्या नेपालमा नभई विश्वका धेरै देशमा समस्या रहेको उनले बताए । अहिले निर्यात उत्साहजनक भए पनि निर्यातको ‘बेस’ कम भएको कारण राम्रो नतिजा नदेखिएको बताए ।
निर्यातमा पनि पाम आयल र सोयाविन तेलको हिस्सा मात्रै धेरै भएको बताए । निर्यातको बेस कम हुँदा अहिले व्यापारघाटा २५ प्रतिशतले बढेको उनले बताए । आयातमा धेरै ठूलो अंश इन्धनको रहेको बताए । अहिले आयात बढ्नुको कारण मूल्य वृद्धि नै भएको बताए । डिजल परिणामका आधारमा हेर्दा ४।५ प्रतिशतले मात्रै बढेको तर मूल्यमा ८० प्रतिशतले बढेको बताए ।
महंगीका कारण आयात अत्यधिक देखिएको उनले बताए । ७५/७६ अर्ब मासिक रुपमा भित्रने रेमिटान्स चालु आर्थिक वर्षको सुरुवातमा भने एकदमै कम आएको कारण बिचमा धेरै रेमिटान्स आउदा पनि औसतमा भने कम देखिएको बताए । यस वर्ष एक महिनामा ९१ अर्बसम्म रेमिटान्स भित्रिएको उनले बताए ।
गभर्नर अधिकारीले चालु खाता खाटा टाउको दुखाइको विषय बनेको बताए । ‘शोधानान्तर पनि निकै ठूलो छ तर करेन्ट अकाउन्ट टाउको दुखाइको विषय बनेको छ’ उनले भने । विदेशी मुद्राको सञ्चिति निकै घटेपनि अन्य देशहरुका तुलनामा खासै नराम्रो भने नभएको उनले बताए । यहीँ तरिकाले विदेशी मुद्रा खर्च भए भोलिका दिनमा धेरै गाह्रो पर्ने भएकोले चिन्ता लिनुपरेको बताए ।



















