सिद्धार्थ बैंकद्वारा बाढीपहिरो प्रभावितका लागि २ करोड ५१ लाख रुपैयाँ सहयोग
वि.सं.२०८३ भदौ १४ आइतवार १४:३९
shares

काठमाडौं,१४ भदौ। रसुवा जिल्लाको भोटेकोशी तथा त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्का कारण मानवीय तथा भौतिक क्षेत्रमा ठूलो क्षति पुगेको घटनाप्रति दुःख व्यक्त गर्दै सिद्धार्थ बैंक लिमिटेडले राहत तथा पुनःस्थापनाका लागि २ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ।
बैंकले विपद् प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम उपलब्ध गराएको जनाएको छ।
सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध बैंकले कठिन परिस्थितिमा प्रभावित नागरिकको पीडामा साथ दिँदै राहत कार्यलाई थप प्रभावकारी बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।
बाढी तथा पहिरोका कारण ज्यान गुमाउने सम्पूर्णप्रति बैंक परिवारले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित समुदायको पुनःस्थापना र सामान्य जनजीवन पुनःस्थापनाका लागि भइरहेका सरकारी तथा सम्बन्धित निकायका प्रयास सफल होऊन् भन्ने कामना बैंकले गरेको छ।
सिद्धार्थ बैंकले विगतदेखि नै विभिन्न सामाजिक, मानवीय तथा विपद् व्यवस्थापनसम्बन्धी कार्यमा सक्रिय सहभागिता जनाउँदै आएको छ। आगामी दिनमा पनि देश तथा समाजलाई आवश्यक परेको समयमा आफ्नो सामाजिक दायित्वप्रति प्रतिबद्ध रहँदै यस्ता मानवीय कार्यमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता बैंकले जनाएको छ।


















