बेनी हाइड्रोपावरको आईपीओ निष्कासन, सर्वसाधारणले आजदेखि आवेदन दिन सक्ने
वि.सं.२०८३ भदौ २२ सोमवार ०९:०२
949
shares
shares

काठमाडौं — बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज (भदौ २२ गते) देखि सर्वसाधारण लगानीकर्ताका लागि साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ८ लाख ६३ हजार २०० कित्ता शेयर निष्कासनमा ल्याएको हो। यस चरणमा सर्वसाधारणले कुल ८ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको शेयरमा आवेदन दिन सक्नेछन्।
यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी तथा सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेको छ। तिनै समूहमा बाँडफाँट गरेर बाँकी रहेको शेयर अहिले सर्वसाधारणका लागि खुला गरिएको हो। समग्रमा कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात् २० लाख ८० हजार कित्ता साधारण शेयर निष्कासन गर्ने अनुमति पाएको थियो।
लगानीकर्ताले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १०,००० कित्तासम्म आवेदन दिन सक्नेछन्। प्रारम्भिक चरणमा आवेदन दिने समय भदौ २५ गतेसम्म तोकिएको छ। यदि उक्त अवधिसम्म मागअनुसार पर्याप्त आवेदन नपरेमा निष्कासन अवधि आगामी असोज ५ गतेसम्म लम्बिनेछ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका साथै सीडीएस एन्ड क्लियरिङको ‘मेरोसेयर’ अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गरिरहेको छ।
सोलुखुम्बु जिल्लामा १९.८ मेगावाट क्षमताको माथिल्लो सोलुखोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको यस कम्पनीको कुल अनुमानित लागत ३ अर्ब ८५ करोड ५१ लाख रुपैयाँभन्दा बढी रहेको छ। कम्पनीको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार सञ्चित नाफा १० करोड ३४ लाख रुपैयाँभन्दा बढी छ भने प्रतिशेयर नेटवर्थ ९१ रुपैयाँ २७ पैसा रहेको छ। इक्रा नेपालले यस कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ, जसले दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ। आईपीओबाट संकलित रकम मुख्यतया बैंकको ऋण भुक्तानी तथा वित्तीय संरचना सुधारमा प्रयोग गर्ने कम्पनीको योजना रहेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकरण भएपछि कम्पनीको पहिलो कारोबारका लागि प्रतिशेयर नेटवर्थका आधारमा न्यूनतम ९१ रुपैयाँ २७ पैसादेखि अधिकतम २७३ रुपैयाँ ८१ पैसासम्मको ओपनिङ रेन्ज पाउने सम्भावना रहेको छ।


















