Dhulikhel Eco Banner new

भोटेकोशी बाढी: ज्यान गुमाएकाहरूको सम्झनामा आज राष्ट्रिय शोक, झन्डा आधा झुकाइयो

624
shares

काठमाडौं — रसुवास्थित भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै आज देशभर राष्ट्रिय शोक मनाइएको छ। गत भदौ १८ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आज नेपालभरका सरकारी कार्यालयहरू तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झन्डा आधा झुकाइएको छ।

प्रहरी प्रधान कार्यालयको हालसम्मको तथ्यांक अनुसार यस विपद्मा परी ज्यान गुमाउनेको संख्या १,३४२ पुगेको छ। फेलापरेका शवहरूमध्ये ५३० पुरुष र ३२८ महिलाको सनाखत भएको छ भने ४९५ वटा शव अत्यधिक क्षतविक्षत भएका कारण पहिचान हुन सकेको छैन। हालसम्म फेला परेकामध्ये १,०४४ वटा शव सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको छ भने बाँकी शवहरूको पहिचान र व्यवस्थापनको काम भइरहेको छ।

बाढीका कारण अझै ३,९९२ जना सम्पर्कविहीन रहेका छन्, जसमध्ये स्वदेशी तथा विदेशी नागरिकहरू पनि रहेका छन्। बेपत्ताहरूको खोजी, उद्धार र राहत वितरणका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका २१ हजारभन्दा बढी सुरक्षाकर्मीहरू कठिन भूगोल र अवरुद्ध बाटोका बाबजुद पनि सक्रिय रूपमा खटिएका छन्। अहिलेसम्म १३,३९९ जनाको सकुशल उद्धार गरिएको छ।

उद्धार गरिएका नागरिकहरूको व्यवस्थापनका लागि रसुवा, नुवाकोट र धादिङमा होल्डिङ सेन्टर सञ्चालन गरिएको छ भने हाल ३,९१२ जना ती सेन्टरमा आश्रित छन्। प्रभावित क्षेत्रमा हालसम्म ६,०७३ जनालाई प्रत्यक्ष स्वास्थ्य सेवा प्रदान गरिएको छ। साथै, मृतक तथा बेपत्ता व्यक्तिका परिवारको पहिचान र शवको सनाखत गर्न डिएनए परीक्षणलाई तीब्रता दिइएको प्रहरीले जनाएको छ।