Dhulikhel Eco Banner new

सुस्ताका ६० बाढीपीडित परिवारलाई त्रिपाल वितरण

494
shares

काठमाडौं, २२ भदौ । बाढी तथा नदी कटानबाट प्रभावित पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५, थारूटोलका ६० घरपरिवारलाई राहतस्वरूप त्रिपाल वितरण गरिएको छ । महान दर्शन नेपाल, सुनवल-१२ भूमहीले सुस्ता-५ स्थित अनोमाघाट (ठाडीघाट) मा प्रभावित परिवारलाई प्रतिपरिवार एक-एक थान त्रिपाल वितरण गरेको स्थानीय मुन्सी कुमार हरिजनले जानकारी दिए ।

‘संस्थाका’ अध्यक्ष राजेन्द्र बस्नेतका अनुसार बाढी तथा विपद्का कारण बिचल्लीमा परेका परिवारलाई तत्काल आवश्यक राहत उपलब्ध गराउँदै उनीहरूको कठिन परिस्थितिमा केही राहत पुर्‍याउने उद्देश्यले त्रिपाल वितरण गरिएको आयोजकले जनाएको छ ।

सुस्ता-४ जरलैया युवा क्लबका सचिव तथा समाजसेवी धिरज गुरुङ र सुस्ता-५ का मुन्सी कुमार हरिजनको समन्वय तथा सुस्ता सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष कमल हरिजनको उपस्थितिमा पीडित परिवारलाई उक्त राहत सामग्री हस्तान्तरण गरिएको थियो। वर्षाको समयमा हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै गरिएको यो सहयोगले स्थानीय बाढीपीडितहरूलाई केही हदसम्म सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ ।