चिलिमेबाट सम्भवतः अरू ६ जनाको छिट्टै उद्धार गर्छौँ : सागर ढकाल
वि.सं.२०८३ भदौ २२ सोमवार १७:२३
shares

काठमाडौं, २२ भदौ । रास्वपाका सांसद सागर ढकालले चिलिमे उद्धार कार्यको पछिल्लो स्थितिबारे जानकारी दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सम्भवतः छिट्टै अरू ६ जनाको उद्धार गरिने आशा व्यक्त गरेका हुन्।
थ्री एको सामान लगेर पहिलो ब्लास्टिङ गरिएको ढकालले बताएका छन्। थ्री एको सुरुङ उकालो भएकाले माटो निकाल्न पानीको फोहरा प्रयोग गरिएको थियो। चिलिमेको सुरुङ ओरालो भएकाले लेदो माटो निकाल्न अर्कै उपाय आवश्यक परेको र त्यसका लागि मेसिन तयार पारिएको उनले जानकारी दिएका छन्।
उक्त मेसिन राति विदुर पुगेर भोलि बिहानै चिलिमे पुग्ने बताइएको छ। ढकालले भने, ‘भोलिबाट द्रुत गतिमा काम भयो भने भोलि साँझ या पर्सि बिहानसम्म सुरुङभित्र छिर्न सकिन्छ कि, हेरौँ।’
सुरुङको काम भएकाले सोचेजस्तो ठ्याक्कै नहुन पनि सक्ने तर आफूहरू धेरै आशावादी रहेको ढकालले उल्लेख गरेका छन्।


















