Dhulikhel Eco Banner new

बाढीपीडितका लागि सूर्योदय वोमीले दियो २५ लाख ६५ हजार

1.89K
shares

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले २५ लाख ६५ हजार रुपैयाँ सहयोग गरेको छ ।

संस्थाले भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायतका जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

संस्थाले विपद्मा परी ज्यान गुमाउने नेपाली तथा विदेशी नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै, बाढी तथा विपद्बाट प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभ एवं सुरक्षित जीवनयापनको कामना गरेको छ ।

प्राकृतिक विपद्का कारण सम्पर्कविहीन तथा प्रभावित भएका नेपाली तथा विदेशी नागरिक, लघुवित्त संस्था, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरू र उनीहरूका परिवारजनले भोग्नुपरेको पीडा तथा कठिनाइप्रति संस्थाले गहिरो सहानुभूति जनाएको छ ।

विपद्बाट प्रभावितलाई राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले संस्थाको सञ्चालक समिति, कर्मचारी तथा संस्थाको तर्फबाट नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख ६५ हजार रुपैयाँ सहयोग प्रदान गरिएको संस्थाले जनाएको छ ।

संस्थाले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै पक्षलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नसमेत आग्रह गरेको छ।