बाढी प्रभावितका लागि दुगड ग्रुपद्वारा १ करोड ११ लाख सहयोग
वि.सं.२०८३ भदौ २४ बुधवार १०:४७
shares

काठमाडौं, २४ भदौ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एमभी दुगड ग्रुपले १ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।
घटनाको तेह्रौँ दिन सोमबार, राष्ट्रिय शोक दिवसको सन्दर्भ पारेर ग्रुपका प्रतिनिधिहरूले अर्थमन्त्री स्वर्णीम वाग्लेलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । ग्रुपका अध्यक्ष मोतीलाल दुगड, उपाध्यक्ष विवेक दुगड र सञ्चालक शुभम दुगडले संयुक्त रूपमा चेक हस्तान्तरण गरेका थिए ।
ग्रुपका अध्यक्ष दुगडका अनुसार, कम्पनी तथा अटोमोबाइल्स डिभिजनमा कार्यरत कर्मचारीहरूको स्वेच्छिक योगदानसमेत समेटेर संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।
यस अवसरमा अध्यक्ष दुगडले बाढी जस्ता विपद्मा जलवायु परिवर्तन र ग्लोबल वार्मिङको प्रभाव गम्भीर रहेको उल्लेख गर्दै वातावरण संरक्षणतर्फ पनि ध्यान दिनुपर्ने बताएका छन्। उनले ग्रुपले विगत पाँच वर्षदेखि देशभर वृक्षारोपण कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए ।
उनका अनुसार, हालसम्म ३ लाखभन्दा बढी बिरुवा रोप्नुका साथै विभिन्न राजमार्ग खण्ड, विद्यालय, प्रहरी तथा सशस्त्र प्रहरी परिसरमा २५ हजारभन्दा बढी उन्नत जातका फलफूलका बिरुवा रोपेर संरक्षण गरिएको छ ।


















