उद्योग वाणिज्य संघद्वारा बाढीपीडितहरूका लागि सहयोग, हातेमालो गर्न आह्वान
वि.सं.२०८३ भदौ २४ बुधवार ११:५९
shares

काठमाडौं, २४ भदौ । गत भदौ १० गते चीनको तिब्बती भू–भागबाट आएको विनाशकारी बाढीका कारण नेपालमा भएको ठूलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नवलपरासी उद्योग वाणिज्य संघले बाढी प्रभावितहरूका लागि २ लाख १ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
संघका कार्यकारिणी समिति, सल्लाहकार, पूर्वअध्यक्ष, लेखा समिति तथा शुभेच्छुक दाताहरूबाट संकलित उक्त सहयोग रकम नेपाल उद्योग वाणिज्य महासंघमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी संघका अध्यक्ष नगेन्द्र अग्रहरीले महासंघका उद्योग, वाणिज्य उपाध्यक्ष कृष्णप्रसाद शर्मालाई हस्तान्तरण गरेका हुन् ।
नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष अग्रहरीले विपद्को कठिन समयमा प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउनु सबैको साझा दायित्व भएको बताए। उनले भने, “विपद्को यस कठिन घड़ीमा प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनामा हातेमालो गर्नु हामी सबैको साझा दायित्व हो। उद्योगी व्यवसायीहरू सधैं समाजको मर्मसँग जोडिएका हुन्छन्, र यो सहयोगले पीडामा परेकाहरूलाई राहत पुग्नेछ भन्ने हाम्रो विश्वास छ। साथै, यस कार्यमा सबै क्षेत्रबाट थप सहयोग र सहकार्यका लागि म हार्दिक आह्वान गर्दछु।”
त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश समितिका संस्थापक अध्यक्ष गुणनिधि तिवारीले प्राकृतिक विपद्का बेला निजी क्षेत्रले देखाएको मानवीय भावनाको प्रशंसा गरे। उनले भने, “प्राकृतिक विपद्ले देशलाई नै मर्माहत बनाएको बेला निजी क्षेत्रले देखाएको यो संवेदनशीलता र ऐक्यबद्धता निकै प्रशंसनीय छ। सङ्कटको यो बेला तीन तहका सरकारसँगै व्यावसायिक संघ–संस्थाले पनि प्रभावितहरूको पुनःस्थापनाका लागि ठोस पहल गर्नुपर्छ।”
नवलपरासी उद्योग वाणिज्य संघका महासचिव भोला पराजुलीले व्यावसायिक दायित्वसँगै सामाजिक उत्तरदायित्व पूरा गर्नु संघको मुख्य प्राथमिकता रहेको उल्लेख गरे। उनले भने, “व्यवसायिक उत्तरदायित्वभन्दा माथि उठेर सामाजिक कर्तव्य पूरा गर्नु हाम्रो प्रमुख धर्म हो। नवलपरासीका उद्योगी–व्यवसायीहरूको तर्फबाट संकलित यो सहयोगले बाढीपीडितहरूको घाउमा केही मलम लगाउनेछ र उद्धार तथा पुनःस्थापना कार्यलाई थप गति दिनेछ भन्ने हामीले अपेक्षा गरेका छौँ।”
चेक हस्तान्तरण कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य एवं संघका पूर्वअध्यक्ष बैजनाथ जैसवाल, , नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका संस्थापक अध्यक्ष गुणनिधि तिवारी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशवप्रसाद भण्डारी संघका पदाधिकारी, कार्यसमिति सदस्य, लेखा समिति तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
विपदमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै संघले शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बाढी प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाइएको छ।


















