Dhulikhel Eco Banner new

नेपाल फिन्सफ्टको अध्यक्षमा बसन्तराज लम्साल नियुक्त

1.82K
shares

काठमाडौं । नेपाल फिन्सफ्ट कम्पनी लिमिटेडको अध्यक्षमा कम्पनीका संस्थापक सदस्य बसन्तराज लम्साल नियुक्त हुनुभएको छ। लम्साल लघुवित्त क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएका अनुभवी व्यक्तित्व हुनुहुन्छ। उहाँ लघुवित्त क्षेत्रसँग सम्बन्धित विभिन्न नेतृत्वदायी भूमिकामा समेत रहिसक्नुभएको छ। पछिल्लो समय लघुवित्त क्षेत्रको नीति, संस्थागत सुदृढीकरण, स्रोत व्यवस्थापन तथा प्रविधिको प्रयोगलगायतका विषयमा उहाँले निरन्तर धारणा राख्दै आउनुभएको छ।

नेपाल फिन्सफ्ट कम्पनी लिमिटेड ३४ वटा लघुवित्त वित्तीय संस्थाको सामूहिक लगानीमा स्थापना भएको विशिष्ट प्रकृतिको प्रविधि कम्पनी हो। लघुवित्त संस्थाहरूको सूचना प्रविधिसम्बन्धी आवश्यकता पहिचान गरी उनीहरूलाई स्वदेशमै विकसित तथा व्यावहारिक सफ्टवेयर र डिजिटल समाधान उपलब्ध गराउने उद्देश्यले कम्पनी स्थापना गरिएको हो। संस्थापक लघुवित्तहरूको साझा लगानी र आवश्यकताबाट जन्मिएको कम्पनी भएकाले फिन्सफ्टले लघुवित्त क्षेत्रको वास्तविक व्यावसायिक तथा प्रविधिगत आवश्यकता नजिकबाट बुझ्दै त्यसअनुसारका समाधान विकास गर्ने लक्ष्य राखेको छ।

कम्पनीले हाल कोर बैंकिङ सिस्टम, मोबाइल बैंकिङ, रिपोर्टिङ तथा नियामकीय रिपोर्टिङ प्रणाली, लर्निङ म्यानेजमेन्ट सिस्टमलगायत विभिन्न सूचना प्रविधि तथा डिजिटल समाधानहरू उपलब्ध गराउँदै आएको छ। वित्तीय संस्थाहरूको कारोबारलाई थप प्रविधिमैत्री, सुरक्षित, प्रभावकारी र व्यवस्थित बनाउने क्रममा यस्ता प्रणालीको भूमिका बढ्दै गएको अवस्थामा फिन्सफ्टले लघुवित्त क्षेत्रका लागि आवश्यक प्रविधिगत पूर्वाधार तथा समाधान विकासमा आफ्नो भूमिका विस्तार गर्ने लक्ष्य लिएको छ।

कम्पनीको स्थापनाकालदेखि नै फिन्सफ्टसँग आबद्ध रहनुभएका लम्सालको अध्यक्षताले कम्पनीलाई लघुवित्त क्षेत्रको आवश्यकता र सूचना प्रविधिबीच थप प्रभावकारी समन्वय कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। उहाँको लघुवित्त क्षेत्रसम्बन्धी अनुभवलाई कम्पनीको प्रविधि तथा व्यावसायिक क्षमतासँग जोड्दै संस्थागत विकास, सेवा विस्तार, नयाँ उत्पादनको विकास तथा ग्राहक संस्थाहरूलाई थप प्रभावकारी सेवा प्रदान गर्ने दिशामा कम्पनी अघि बढ्ने अपेक्षा गरिएको छ।

यसैगरी, कम्पनीको सञ्चालक समितिमा श्रीराम पोखरेललाई नयाँ सञ्चालकका रूपमा नियुक्त गरिएको छ। पोखरेलको नियुक्तिसँगै कम्पनीको सञ्चालक समितिको आवश्यक संख्या पूरा हुनुका साथै कम्पनीको आगामी रणनीतिक योजनालाई थप संस्थागत बल पुगेको छ। नयाँ नेतृत्व संरचनाले कम्पनीको दीर्घकालीन व्यावसायिक योजना, सुशासन, वित्तीय सुदृढीकरण तथा सेवा विस्तारलाई थप व्यवस्थित रूपमा अघि बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

नेपाल फिन्सफ्टले आगामी दिनमा लघुवित्त संस्थाहरूको बदलिँदो प्रविधिगत आवश्यकता सम्बोधन गर्दै डिजिटल रूपान्तरण, प्रणाली एकीकरण, मोबाइल तथा डिजिटल बैंकिङ, नियामकीय रिपोर्टिङ, मानव संसाधन तथा प्रशिक्षणलगायतका क्षेत्रमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्य लिएको छ। साथै, कम्पनीलाई थप व्यावसायिक, प्रतिस्पर्धी र दिगो संस्थाका रूपमा विकास गर्ने योजनासमेत अघि सारिएको छ।

लम्साल तथा पोखरेलको नियुक्तिसँगै कम्पनीले आगामी पाँच वर्षभित्र नेपाल फिन्सफ्ट कम्पनी लिमिटेडलाई नेपाल स्टक एक्सचेन्ज (NEPSE) मा सूचीकृत गर्ने दीर्घकालीन लक्ष्यलाई समेत थप प्राथमिकताका साथ अघि बढाउने भएको छ। त्यसका लागि कम्पनीले संस्थागत सुशासन सुदृढ गर्ने, वित्तीय अवस्था मजबुत बनाउने, व्यवसाय तथा ग्राहक आधार विस्तार गर्ने, सेवा र उत्पादनमा विविधीकरण गर्ने तथा कम्पनीको समग्र संस्थागत क्षमता अभिवृद्धि गर्ने दिशामा काम गर्ने योजना बनाएको छ।

लघुवित्त क्षेत्रकै संस्थाहरूको सामूहिक लगानीबाट स्थापना भएको फिन्सफ्टलाई आगामी दिनमा लघुवित्त क्षेत्रको साझा प्रविधि साझेदारका रूपमा थप स्थापित गर्दै पूँजी बजारमा सूचीकृत कम्पनीका रूपमा विकास गर्ने लक्ष्यले नयाँ नेतृत्वलाई दीर्घकालीन दिशानिर्देश प्रदान गरेको छ।