Dhulikhel Eco Banner new

एपीजेसी, आईएटीए तथा उड्डयन समितिको नेतृत्वमा प्रकाश लोहनी

715
shares

काठमाडौं, ५ असोज । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले उड्डयन क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण जिम्मेवारी प्रकाश लोहनीलाई सुम्पिएको छ। नाट्टाको चौथो बोर्ड बैठकले लोहनीलाई एपीजेसी, आईएटीए तथा उड्डयन समितिको संयोजकको जिम्मेवारी दिएको हो।

नाट्टाले विभिन्न समितिहरूलाई औपचारिक रूपमा गठन गर्दै सम्बन्धित समितिको कार्यक्षेत्र, जिम्मेवारी र कार्यसम्बन्धी TOR निर्धारण गरेको छ। सोही क्रममा नाट्टा अध्यक्ष भरतजंग पाण्डेले समितिका संयोजकहरूलाई जिम्मेवारीपत्र तथा TORऔपचारिक रूपमा हस्तान्तरण गरेका थिए।

प्रवास ट्राभल एन्ड टुर्सका म्यानेजिङ डाइरेक्टर समेत रहेका लोहनी लामो समयदेखि पर्यटन तथा ट्राभल व्यवसायमा सक्रिय छन्। उड्डयन, एयरलाइन्स र ट्राभल व्यवसायबीचको सम्बन्ध तथा यस क्षेत्रमा देखिएका व्यावहारिक चुनौतीबारे उनको अनुभवलाई मध्यनजर गर्दै उनलाई महत्वपूर्ण समितिको नेतृत्व दिइएको हो।

जिम्मेवारी ग्रहण गर्दै लोहनीले “दिइएको जिम्मेवारी पूर्ण रूपमा पालना गर्दै समितिको कार्यलाई प्रभावकारी र परिणाममुखी बनाउने” प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले आईएटीए, एयरलाइन्स, सम्बन्धित सरकारी निकाय तथा अन्य सरोकारवालासँग सार्थक समन्वय र सहकार्यलाई प्राथमिकता दिँदै नाट्टा सदस्य ट्राभल एजेन्सीहरूले उड्डयन क्षेत्रमा भोगिरहेका समस्या समाधानका लागि ठोस पहल गर्ने बताएका छन्।

विशेषगरी एयर टिकटिङ, एयरलाइन्ससँगको समन्वय, आईएटीएसम्बन्धी विषय तथा ट्राभल एजेन्सीका व्यावहारिक समस्यालाई प्राथमिकताका साथ उठान गर्दै सम्बन्धित निकायसँग समाधानमुखी संवाद अघि बढाउने उनको भनाइ छ।

“समिति केवल बैठक गर्ने थलो होइन, सदस्यका समस्या सुन्ने, सम्बन्धित निकायसम्म पुर्‍याउने र समाधानका लागि पहल गर्ने प्रभावकारी माध्यम बन्नुपर्छ,” भन्ने दृष्टिकोणसहित लोहनीले समितिको कार्यलाई अघि बढाउने तयारी गरेका छन्।