Dhulikhel Eco Banner new

‘देशलाई दुःख पर्दा हामीलाई पनि दुख्छ’—ओस्लोमा NEPOS को भावनात्मक तीज

481
shares

 ओस्लो, । नेपाली महिलाहरूको प्रमुख सांस्कृतिक पर्व हरितालिका तीजका अवसरमा NEPOS (Nepali Portuguese Society Norway) को आयोजनामा ओस्लोस्थित कालबाकेन हलमा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नर्वेमा बसोबास गर्ने करिब ५०० नेपालीको सहभागिता थियो। NEPOS Norway  का अध्यक्ष प्रेम परियार र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् नर्वेकी अध्यक्ष श्रद्धा सिंह थापाले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए।

नेपालमा हालै आएको बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै “देशलाई दुःख पर्दा हामीलाई पनि दुःख्छ” भन्ने भावनासहित यस वर्षको कार्यक्रम संयमित रूपमा आयोजना गरिएको थियो। दरका रूपमा खिर र अचार मात्र व्यवस्था गरिएको थियो। आयोजकका अनुसार आवश्यक खर्च कटाएर बचत हुने रकम विपद्पीडितको राहत तथा सहयोगमा समर्पण गरिनेछ।

कार्यक्रममा मञ्जु सुवेदी, पर्वता पन्थी गैरे, NEPOS बाल सांस्कृतिक समूह, गृवाणी भट्टचन, रोनिया खड्का र सन्ध्या कार्की लगायतले तीज गीत तथा नृत्य प्रस्तुत गरेका थिए। श्याम परियार र युवराज खनालले बाढी–पहिरो तथा नेपालको समसामयिक अवस्थासम्बन्धी कविता वाचन गरेका थिए। कार्यक्रममा करिब ५०० नेपाली दाजुभाइ, दिदीबहिनी तथा परिवारजनको सहभागिता थियो।

कार्यक्रमको दोस्रो चरण भगवान् भुजेलले सञ्चालन गरेका थिए। रसुवामा आएको बाढीबाट सिर्जित पीडाका कारण कार्यक्रमको शैलीमा गरिएको परिवर्तनलाई राष्ट्रिय भावनासँग जोड्दै उनले नेपाली संस्कृति संरक्षणसँगै विपद्का बेला जन्मभूमिलाई सहयोग गर्नुपर्ने सन्देश दिएका थिए।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, युरोप शाखाका अध्यक्ष सुवास पुन, केसु पुन, रोनक थापा, भगवान् भुजेल र ईमानसिंह बुढामगर लगायत कलाकारले भजन तथा सांस्कृतिक प्रस्तुति दिएका थिए। विष्णु क्षेत्री र नयन अधिकारीले संगीत तथा डीजेमा सहयोग गरेका थिए। राष्ट्रिय भावनाले ओतप्रोत भगवान् भुजेलको प्रस्तुतिले दर्शकको मन जितेको थियो। कार्यक्रम दिउँसो २ बजेदेखि साँझ ९ बजेसम्म सञ्चालन भएको थियो।