रसुवा–भोटेकोशी बाढीपछि राहतमा सक्रिय प्रभु बैंकद्वारा देशभर रक्तदान कार्यक्रम
वि.सं.२०८३ भदौ ३० मंगलवार ११:५२
shares

काठमाडौं, ३० भदौ । प्रभु बैंकले मंगलबार देशभर विभिन्न शाखा तथा तोकिएका स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। बिहान ८ बजेदेखि सुरु भएको कार्यक्रममा बैंकका विभिन्न शाखामार्फत रक्तदान कार्यक्रम सञ्चालन गरिएको हो।
अस्पतालहरूमा हुन सक्ने रगतको अभाव न्यूनीकरण गर्दै आवश्यकतामा रहेका बिरामीका लागि पर्याप्त रगत उपलब्ध गराउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ।
प्रभु बैंकका प्रमुख रणनीति तथा सञ्चार अधिकृत रविन्द्र ढकालका अनुसार बैंकले देशका सातवटै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना गरेको हो। उनका अनुसार बैंकका कर्मचारी, सेवाग्राही तथा सर्वसाधारणलाई समेत रक्तदान कार्यक्रममा सहभागी हुन प्रोत्साहित गरिएको छ।
रक्तदान कार्यक्रम बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरिएको ढकालले बताए। उनले मानवीय सेवासँग जोडिएको यस्तो अभियानले अस्पतालहरूमा हुन सक्ने रगतको अभाव न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरे।
प्रभु बैंकले पछिल्लो समय बाढीपहिरो तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारमा समेत सक्रियता देखाउँदै आएको छ। भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५० लाख रुपैयाँभन्दा बढी सहयोग गरेको थियो।
त्यसैगरी, बैंकले बाढी प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्रीसमेत वितरण गर्दै आएको जनाएको छ।
बाढी तथा अन्य प्राकृतिक विपद्का कारण विभिन्न क्षेत्रमा मानवीय सहायता आवश्यक भइरहेका बेला बैंकले रक्तदानमार्फत अस्पतालमा हुन सक्ने रगतको अभाव न्यूनीकरणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
देशका सातवटै प्रदेशमा आयोजना गरिएको रक्तदान कार्यक्रममा इच्छुक रक्तदाताले सहभागी भई रक्तदान गर्न सक्ने बैंकले जनाएको छ। बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता मानवीय तथा सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ।


















