निभिक्स फर्मास्यूटिकल्सले आईपीओ र हकप्रद निष्कासन गर्ने, असोज २६ मा विशेष साधारण सभा
वि.सं.२०८३ असोज १२ सोमवार ०७:५६
shares

पुँजी वृद्धि, हकप्रद सेयर र सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने मुख्य एजेन्डासहित निभिक्स फर्मास्यूटिकल्स लिमिटेडले विशेष साधारण सभा (एसजीएम) बोलाएको छ। कम्पनीको सञ्चालक समिति बैठकले आगामी असोज २६ गते सोमबार पोखराको बुलौदीस्थित पोखरा इभेन्ट सेन्टरमा बिहान ११ बजे सभा बस्ने तय गरेको हो।
सभामा कम्पनीको अधिकृत तथा जारी पुँजी बढाउने विशेष प्रस्ताव पेस हुँदैछ। हाल कायम ५५ करोड रुपैयाँ पुँजीलाई बढाएर ७२ करोड १८ लाख ७५ हजार रुपैयाँ पुर्याउने कम्पनीको तयारी छ। साथै, कम्पनीको पुँजी संरचना परिवर्तन गरी संस्थापक सेयरधनीको स्वामित्व ७५ बाट ८० प्रतिशत पुर्याउने र बाँकी २० प्रतिशत सेयर सर्वसाधारणका लागि आईपीओमार्फत जारी गर्ने प्रस्ताव सभाले पारित गर्नेछ।
यसैगरी, कम्पनीले आफ्ना सेयरधनीलाई ४० प्रतिशत हकप्रद सेयर (राइट सेयर) वितरण गर्ने अर्को महत्त्वपूर्ण प्रस्ताव पनि अघि सारेको छ। यी सम्पूर्ण प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिइनेछ। विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज २० गते एक दिन सेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) गर्ने जनाएको छ। यसअनुसार असोज १९ गतेसम्म कायम रहेका सेयरधनीले मात्र उक्त सभामा भाग लिन पाउनेछन्।

















