Dhulikhel Eco Banner new

इसेवाको प्रमुख कार्यकारीमा निरज शर्मा, सोमबारदेखि सम्हाले कार्यभार

1.7K
shares

काठमाडौं, १२ असोज ।  नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा नियुक्त भएका छन्। इसेवा सञ्चालक समितिको गत भदौ ३० गते बसेको बैठकले सोमबारदेखि लागू हुने गरी शर्मालाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो। निर्णयअनुसार शर्माले आजैदेखि आफ्नो कार्यभार सम्हालेका छन्।

बैंकिङ तथा वित्तीय क्षेत्रमा २५ वर्षभन्दा बढीको नेतृत्वदायी अनुभव भएका शर्मा ट्रान्जेक्सन बैंकिङ, कार्ड प्रणाली, डिजिटल रूपान्तरण तथा रिटेल बैंकिङ क्षेत्रका अनुभवी हुन्। उनले डिजिटल नवप्रवर्तन, रणनीतिक वृद्धि तथा ग्राहककेन्द्रित नवप्रवर्तन विकासका क्षेत्रमा काम गरिसकेका छन्। शर्माको अनुभव र नेतृत्व क्षमताले इसेवाको आगामी यात्रालाई थप सुदृढ बनाउने, विगतका उपलब्धिलाई निरन्तरता दिने तथा डिजिटल वित्तीय सेवाको विकाससँगै कम्पनीलाई अझ बलियो बनाउने विश्वास सञ्चालक समितिले लिएको छ।

यसैबीच, इसेवाका निवर्तमान प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा भएको छ। वि.सं. २०७९ असोज १२ मा प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका खड्काले आफ्नो कार्यकाल सफलतापूर्वक पूरा गरेका हुन्। उनको व्यवस्थापकीय नेतृत्वमा कम्पनीले सेवा, पहुँच तथा डिजिटल वित्तीय सेवाको दायरा उल्लेख्य रूपमा विस्तार गरेको थियो।

खड्काको कार्यकालमा इसेवामा दर्ता हुने प्रयोगकर्ताको सङ्ख्या १ करोड ४० लाख र मर्चेन्टको सङ्ख्या ६ लाख नाघेको छ। साथै, उनको कार्यकालमा डिजिटल कर्जा सुविधा, फाइनान्स ३६०, इसेवा सर्कल, बिजनेस लिङ्क, बिजनेस एप, इन्टेन्ट पे, क्यालेन्डर तथा इभेन्ट सेवा र इन्स्योरेन्स प्रोडक्टजस्ता विविध फिचरहरू विस्तार गरिएका थिए।

दृष्टिविहीन नागरिकका लागि ‘टकब्याक’ फिचर तथा नेपाली भाषामा एप सञ्चालन गरी वित्तीय सेवालाई समावेशी बनाउन पनि उनले नेतृत्व गरेका थिए। ‘सबै, सधैँ, सँगै’ भन्ने ब्रान्ड प्रमिसलाई आत्मसात् गर्दै उनले हासिल गरेका उपलब्धिहरूले इसेवाको आगामी यात्राका लागि थप बलियो आधार तयार गरेको कम्पनीले जनाएको छ।