चाडपर्वमा सार्वजनिक यातायातको भाडा नबढाउने महासंघको प्रतिबद्धता
वि.सं.२०८३ असोज १२ सोमवार १३:१९
shares

काठमाडौं, १२ असोज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आसन्न चाडपर्वका अवसरमा सार्वजनिक यातायातको भाडा नबढाउने प्रतिबद्धता जनाएको छ। सोमबार प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठकमा महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले पेट्रोलियम पदार्थको मूल्य यथावत् रहेसम्म हाल कायम रहेको भाडादरमै यात्रुलाई सेवा प्रदान गर्ने स्पष्ट पारेका हुन्।
बैठकमा बोल्दै अध्यक्ष सिटौलाले चाडपर्वमा अग्रिम टिकट बुकिङ मात्र ठुलो कुरा नभई यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउनु मुख्य चुनौती रहेको बताए। सडकको दयनीय अवस्था र ठाउँठाउँमा भइरहेको अवरोधका कारण यातायात सञ्चालनमा कठिनाइ भए पनि सरकारसँगको समन्वयमा सेवालाई निरन्तरता दिने जानकारी उनले दिए।
यातायात क्षेत्रमा हुने बिचौलियाको बिगबिगी र जथाभाबी टिकट काट्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा उनले जोड दिए। सवारी साधनको प्रकारअनुसार सरकारले तोकेको भाडादर कार्यान्वयन गर्न व्यवसायी प्रतिबद्ध रहेको उनले बताए। चाडपर्वको समयमा हुने एकतर्फी चापको व्यवस्थापनमा जोड दिँदै उनले सो समयमा मालवाहक सवारी साधनलाई निश्चित समय रोक्न र सडक मर्मतमा तीव्रता दिन सरकारलाई आग्रह गरे।
सिटौलाले भने, ‘तोकिएको बसपार्क र काउन्टरबाट मात्र टिकट काट्ने व्यवस्था मिलाउन सके यात्रु ठगीको समस्या हटेर जान्छ। दसैँको समयमा यात्रुवाहक सवारीलाई पहिलो प्राथमिकता दिनुपर्छ। बाटोको खाल्डाखुल्टी पुर्न र सडक सुरक्षाका लागि १५-२० दिन विशेष ध्यान दिनुपर्छ।’
अध्यक्ष सिटौलाले चाडपर्वमा अग्रिम बुकिङ गरिएका गाडीहरूलाई अन्य प्रयोजन वा रिजर्भमा नपठाउन व्यवसायीहरूलाई निर्देशन दिइएको बताए। लामो दूरीका सवारीमा दुईजना चालक राख्ने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गरिने उनको भनाइ छ। पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढे पनि सरकारले नागरिकको हितका लागि घाटा सहेर भए पनि मूल्य स्थिर राख्नुपर्ने तर्क उनले गरे।

















