सेबोनको पुँजी बजार सुधार योजना: नेप्सेको पुनर्संरचनादेखि मार्जिन लेन्डिङसम्म
वि.सं.२०८३ असोज २६ सोमवार ११:१८
shares

काठमाडौं, २६ असोज । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पुँजी बजारको आधुनिकीकरण र संस्थागत सुधारलाई प्राथमिकता दिँदै नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना, मार्जिन लेन्डिङ कार्यान्वयन तथा नयाँ वित्तीय उपकरण भित्र्याउने तयारी अघि बढाएको छ।
स्टक ब्रोकर एशोसिएशन अफ नेपालले आयोजना गरेको दशैँ, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सेबोनका अध्यक्ष डा. गोपाल भट्टले पुँजी बजार सुधारका लागि दुईवटा नयाँ ऐनको मस्यौदा तयार पारिएको जानकारी दिए। ती मस्यौदालाई स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाउने तयारी भइरहेको उनले बताए।
प्रस्तावित ऐनमध्ये एउटाले ब्रोकर मार्केट, मर्चेन्ट बैंकिङ, म्युचुअल फन्ड, सेयर तथा बन्ड बजारलगायत पुँजी बजारका समग्र पूर्वाधारलाई समेट्नेछ। अर्को ऐनले धितोपत्र बोर्डको नियामकीय भूमिका र अधिकारलाई थप बलियो बनाउने लक्ष्य राखेको छ।
नेप्सेको पुनर्संरचना र आधुनिकीकरणमा जोड
अध्यक्ष भट्टका अनुसार नेप्सेको स्वामित्व विविधीकरण तथा पुनर्संरचनाका लागि सरकारले गठन गरेको उच्चस्तरीय समितिको प्रतिवेदन बोर्डले प्राप्त गरिसकेको छ। नेप्सेको स्वामित्व सरकारसँगै राख्ने वा निजी क्षेत्रलाई दिने भन्ने निर्णय सरकारको कार्यक्षेत्रभित्र पर्ने भए पनि प्रविधि, जोखिम व्यवस्थापन र कारोबार प्रणालीको आधुनिकीकरण आवश्यक रहेको उनले बताए।
नेप्सेलाई थप प्रतिस्पर्धी र सबल बनाउन अन्तर्राष्ट्रिय स्टक एक्सचेन्जहरूसँग रणनीतिक साझेदारीको पहल गरिने पनि उनले जानकारी दिए। यसका लागि बोर्डले आफ्नो नियामकीय अधिकार प्रयोग गर्दै आवश्यक निर्देशन जारी गर्ने तयारी गरेको छ।
असोजभित्रै मार्जिन लेन्डिङको एसओपी बनाइने
लामो समयदेखि प्रतीक्षा गरिएको मार्जिन लेन्डिङ कार्यान्वयनका लागि आगामी असोजभित्रै स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर (एसओपी) तयार पारिने अध्यक्ष भट्टले बताए।
प्रस्तावित व्यवस्थाअनुसार ब्रोकर, सीडीएससी, नेप्से र बैंकका सूचना प्रविधि प्रणालीलाई आपसमा आबद्ध गरिनेछ। यसबाट ग्राहकले ब्रोकरमार्फत ऋण सीमा स्वीकृत गराएपछि बैंकबाट रकम परिचालन गर्ने प्रक्रिया सहज हुने अपेक्षा गरिएको छ।
नेपाल राष्ट्र बैंकसँगको समन्वयमा लगानीकर्ताले कल मनी रेटसँग जोडिएको तुलनात्मक रूपमा सस्तो ब्याजदरमा ऋण प्राप्त गर्न सक्ने संयन्त्र विकास भइरहेको पनि उनले बताए। सेयर धितो कर्जा र मार्जिन लेन्डिङ फरक व्यवस्था भएको उल्लेख गर्दै उनले मार्जिन लेन्डिङले ब्रोकर कम्पनीको भूमिकालाई थप विस्तार गर्ने स्पष्ट पारे।
ब्रोकर कम्पनीलाई मर्जरमा प्रोत्साहन गरिने
परम्परागत र एकल व्यक्तिको नियन्त्रणमा सञ्चालित साना ब्रोकर व्यवसायको मोडेल अब पर्याप्त नहुने अध्यक्ष भट्टको भनाइ छ। आगामी दिनमा ब्रोकर कम्पनीहरू बहुसेवा प्रदान गर्ने, संस्थागत रूपमा बलिया र कर्पोरेट शैलीमा सञ्चालन हुने गरी अघि बढ्नुपर्ने उनले बताए।
ब्रोकर कम्पनीहरूको व्यावसायिक प्रतिष्ठा तथा संस्थागत क्षमता अभिवृद्धि गर्न मर्जर तथा एक्विजिसनलाई प्रोत्साहन गरिने पनि उनले जानकारी दिए। आवश्यक परे बोर्डले यस्तो प्रक्रियामा सहजीकरण गर्ने नीति लिएको छ।
सर्ट सेलिङ, इन्ट्रा-डे ट्रेडिङ र ईटीएफ ल्याउने तयारी
पुँजी बजारमा कारोबारका विकल्प विस्तार गर्न सेबोनले नयाँ वित्तीय उपकरणहरू कार्यान्वयनमा ल्याउने तयारी गरेको छ। अध्यक्ष भट्टका अनुसार चालु आर्थिक वर्षको अन्त्यसम्ममा सर्ट सेलिङ, इन्ट्रा-डे ट्रेडिङ, एक्सचेन्ज ट्रेडेड फन्ड (ईटीएफ) तथा सेक्युरिटी लेन्डिङ एन्ड बोरोइङजस्ता उपकरण लागू गर्ने लक्ष्य राखिएको छ।
यी उपकरणले बजार घटेको अवस्थामा समेत लगानीकर्तालाई विभिन्न कारोबार रणनीति अपनाउने अवसर दिन सक्ने अपेक्षा गरिएको छ। प्रस्तावित व्यवस्थाको कार्यान्वयनका लागि उनले बजारका सबै सरोकारवालालाई आवश्यक तयारी गर्न आग्रह गरेका छन्।
कृषि उपजमा आधारित कमोडिटी बजारलाई प्राथमिकता
नेपालमा कमोडिटी एक्सचेन्ज सञ्चालनको तयारी भइरहेका बेला सेबोनले पहिलो चरणमा कृषि उत्पादनमा आधारित बजार विकासलाई प्राथमिकता दिने भएको छ।
सुन, चाँदी वा पेट्रोलियम पदार्थमा मात्र केन्द्रित कमोडिटी बजारले नेपालको अर्थतन्त्रमा अपेक्षित योगदान दिन नसक्ने उल्लेख गर्दै अध्यक्ष भट्टले कृषि उपजको व्यवस्थित बजारले उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना र आर्थिक विकासमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे।
पुँजी बजारलाई आधुनिक, पारदर्शी र प्रतिस्पर्धी बनाउन सेबोन, नेप्से तथा ब्रोकर व्यवसायबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ। नीतिगत सुधार, संस्थागत विकास र नयाँ प्रविधिको विस्तारमार्फत नेपालको पुँजी बजारलाई थप व्यवस्थित बनाउने दिशामा बोर्ड अघि बढिरहेको उनले बताए।


















