Dhulikhel Eco Banner new

नेप्सेमा रणनीतिक साझेदारदेखि ऐन संशोधनसम्म: पुँजी बजार सुधारमा जोड

832
shares

काठमाडौं, २६ असोज ।  स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले नेपालको पुँजी बजारलाई आधुनिक, प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउन धितोपत्र ऐन संशोधन तथा नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना प्रक्रिया छिट्टै अघि बढाउनुपर्ने बताएका छन्।

स्टक ब्रोकर एसोसिएसनले आयोजना गरेको बडादसैँ, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले पुँजी बजारको विकास र सुधारका लागि अर्थ मन्त्रालय तथा नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग निरन्तर संवाद भइरहेको जानकारी दिए। नयाँ सरकार गठनसँगै बजारमा सकारात्मक संकेत देखिएको उल्लेख गर्दै उनले सुधारका कामले गति लिनुपर्नेमा जोड दिए। नेप्सेमा रणनीतिक साझेदार भित्र्याउनुपर्ने

अध्यक्ष ढकालले नेप्सेको पुनर्संरचनालाई निजीकरणमा मात्र सीमित गर्न नहुने बताए। बजारको प्रविधि, कार्यक्षमता र प्रतिस्पर्धात्मक क्षमता बढाउन अन्तर्राष्ट्रिय अनुभव तथा प्रविधि भएको रणनीतिक साझेदार भित्र्याउनुपर्ने उनको भनाइ छ।

दूरसञ्चार क्षेत्रमा एनसेलमार्फत विदेशी साझेदार आउँदा ग्राहकले फरक अनुभव गर्न पाएजस्तै नेप्सेमा पनि अन्तर्राष्ट्रिय प्रविधि र अनुभव भित्र्याउन सरकार–सरकार (जीटूजी) वा अन्य उपयुक्त माध्यमबाट साझेदारी गर्न सकिने उनले बताए।

धितोपत्र ऐन संशोधनमा ढिलाइ नगर्न आग्रह

नेपालको पुँजी बजार अझै पनि २३ वर्ष पुरानो ऐनका आधारमा सञ्चालन भइरहेकाले कानुनी व्यवस्थामा व्यापक परिमार्जन आवश्यक रहेको अध्यक्ष ढकालले बताए।

अर्थ समितिमा पुगेर रोकिएको ऐन संशोधनको प्रक्रियालाई धितोपत्र बोर्डले छिट्टै अघि बढाउने विश्वास व्यक्त गर्दै उनले कानुनी व्यवस्थाको अभावमा रोकिएका नयाँ वित्तीय उपकरण तथा प्रविधि कार्यान्वयनको बाटो खुल्नुपर्ने धारणा राखे।

ब्रोकर मर्जर र सेवा विस्तारमा जोड

ब्रोकर नीति आएपछि नियमावली संशोधनको प्रक्रिया सुरु हुन लागेको जानकारी दिँदै ढकालले बजारमा संस्थागत रूपमा सक्षम र प्रविधिमैत्री ब्रोकर कम्पनी आवश्यक रहेको बताए।

दिगो रूपमा सञ्चालन हुन नसक्ने ब्रोकर कम्पनीलाई सक्षम संस्थासँग गाभ्न प्रोत्साहन गर्ने विषयमा एसोसिएसनले सेबोनसँग समन्वय गरिरहेको उनले जानकारी दिए। ब्रोकरहरूको पुँजीगत क्षमताअनुसार व्यावसायिक सेवा विस्तार गर्ने विषयमा समेत गृहकार्य भइरहेको उनको भनाइ छ।

बैंकमार्फत ब्रोकर सेवा विस्तार गर्ने प्रस्तावप्रति असहमति

वाणिज्य बैंक तथा वित्तीय संस्थाका शाखामार्फत गाउँ–गाउँसम्म ब्रोकर सेवा विस्तार गर्ने प्रस्तावप्रति अध्यक्ष ढकालले असहमति जनाए। यस्तो मोडेल संसारभर असफल भइसकेको उनको दाबी थियो।

बैंकसँग पुँजी हुँदैमा सबै प्रकारका व्यवसाय एउटै संस्थामार्फत सञ्चालन गर्नु उपयुक्त नहुने उल्लेख गर्दै उनले यस विषयमा व्यवसायीका तर्फबाट अर्थ मन्त्रालय र धितोपत्र बोर्डलाई आफ्नो धारणा बुझाउने प्रयास जारी रहने बताए।

मार्जिन ट्रेडिङ र लगानीकर्ता संरक्षण कोषबारे चासो

अध्यक्ष ढकालले मार्जिन ट्रेडिङ कार्यविधिअन्तर्गत धेरै ब्रोकरले सेवा सुरु गरिसकेको जानकारी दिए। यद्यपि, दैनिक बजारको उतारचढाव र १५ प्रतिशतको सर्किट सीमाका कारण जोखिम बढ्न सक्ने उल्लेख गर्दै उनले पुरानै १० प्रतिशतको सीमा कायम गर्न सेबोनसँग आग्रह गरे।

त्यसैगरी, सेटलमेन्ट ग्यारेन्टी फन्डको कार्यविधि संशोधन अन्तिम चरणमा पुगेको उनले बताए। कम्पनी रजिस्ट्रारको कार्यालयअन्तर्गत रहेको लगानीकर्ता संरक्षण कोषलाई धितोपत्र बोर्ड मातहत ल्याएर सञ्चालन गर्ने विषयमा समेत छलफल आवश्यक रहेको उनको भनाइ छ।

पुँजी बजारका लागि एकद्वार प्रणालीको माग

बीमा, विद्युत् प्राधिकरण, कम्पनी रजिस्ट्रारलगायत विभिन्न निकायबाट आउने फरक–फरक निर्देशनका कारण पुँजी बजारसम्बन्धी काममा कठिनाइ हुने गरेको अध्यक्ष ढकालले बताए।

पुँजी बजारसँग सम्बन्धित नियामकीय तथा प्रशासनिक प्रक्रियालाई सहज र प्रभावकारी बनाउन एकद्वार प्रणालीको व्यवस्था आवश्यक रहेको उनले उल्लेख गरे।

पुँजी बजारको दिगो विकासका लागि कानुनी सुधार, आधुनिक कारोबार प्रणाली, सक्षम ब्रोकर संस्था र नियामक निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको अध्यक्ष ढकालको भनाइ छ।