अर्थ मन्त्रालयद्वारा ‘नागरिक बजेट’ सार्वजनिक, करदेखि विकास योजनासम्मका विवरण समेटिए
वि.सं.२०८३ असोज २६ सोमवार १२:२१
shares

काठमाडौं, २६ असोज ।अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटबारे आम नागरिकलाई जानकारी दिने उद्देश्यले ‘नागरिक बजेट’ सार्वजनिक गरेको छ ।
‘हाम्रो कर, हाम्रै बजेट, हाम्रै भविष्य’ भन्ने नारासहित सार्वजनिक गरिएको पुस्तिकामा सरकारले गर्ने खर्च, आम्दानीका स्रोत, करका व्यवस्था र विकास योजनाबारे सरल भाषामा जानकारी दिइएको छ ।
यो नयाँ बजेट नभई गत जेठ १५ गते सार्वजनिक गरिएको बजेटलाई सर्वसाधारणले सहजै बुझ्न सक्ने गरी तयार पारिएको पुस्तिका हो ।
नागरिक बजेटमा व्यक्तिगत आयकरको छुट सीमा वृद्धि, उद्योगमा प्रयोग हुने कच्चा पदार्थको भन्सार दर घटाउने तथा ६० प्रकारका वस्तुमा अन्तःशुल्क हटाउनेजस्ता करसम्बन्धी व्यवस्था समेटिएका छन् ।
त्यस्तै, सडक, खानेपानी, ऊर्जा, सिँचाइ, कृषि, शिक्षा र स्वास्थ्यलगायतका क्षेत्रमा सरकारले अघि सारेका कार्यक्रमबारे पनि जानकारी दिइएको छ ।
पुस्तिकामा सङ्घ, प्रदेश र स्थानीय तहबीचको राजस्व बाँडफाँट, अनुदान वितरण तथा सरकारी खर्चको विवरणसमेत समावेश गरिएको छ । किसान, विद्यार्थी, महिला, ज्येष्ठ नागरिक, श्रमिक र उद्यमीका लागि बजेटमा गरिएका व्यवस्थाबारे पनि उल्लेख छ ।
बजेट कसरी निर्माण हुन्छ, योजना कसरी छनोट गरिन्छ र त्यसको कार्यान्वयन तथा अनुगमन कसरी हुन्छ भन्ने विषयलाई समेत नागरिक बजेटमा समेटिएको छ ।
सरकारको बजेट र खर्चसम्बन्धी जानकारी नागरिकसम्म पुर्याउने तथा सार्वजनिक वित्तीय व्यवस्थामा पारदर्शिता र जवाफदेहिता बढाउने उद्देश्यले पुस्तिका सार्वजनिक गरिएको हो ।


















