श्रमिकलाई चाडपर्व भत्ता दिन रोजगारदातालाई विभागको निर्देशन
वि.सं.२०८३ असोज २६ सोमवार १२:३३
shares

काठमाडौं, २६ असोज । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकलाई चाडपर्व खर्च उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठानलाई निर्देशन दिएको छ ।
विभागले चाडपर्व खर्च नपाएको भन्दै गुनासो आउने गरेको उल्लेख गर्दै कानुनअनुसार श्रमिकलाई उक्त सुविधा उपलब्ध गराउन आग्रह गरेको हो ।
श्रम ऐन, २०७४ को दफा ३७ अनुसार प्रत्येक श्रमिकले आफूले मनाउने मुख्य चाडपर्वका अवसरमा एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चका रूपमा पाउने व्यवस्था छ ।
तर, कतिपय रोजगारदाता तथा प्रतिष्ठानले श्रमिकलाई यस्तो खर्च उपलब्ध नगराएको गुनासो आएपछि विभागले ध्यानाकर्षण गराएको हो ।
विभागका अनुसार चाडपर्व खर्च नपाएका श्रमिकले आफ्नो कार्यक्षेत्र पर्ने श्रम तथा रोजगार कार्यालय वा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा उजुरी दिन सक्नेछन् ।
कानुनले व्यवस्था गरेको सुविधा श्रमिकलाई उपलब्ध गराउनु रोजगारदाताको दायित्व भएकाले सबै प्रतिष्ठानले यसको पालना गर्नुपर्ने विभागले जनाएको छ ।


















