अन्तर्राष्ट्रिय उडान ठप्प हुँदा भैरहवाका व्यवसायी निराश, अर्बौंको लगानी जोखिममा
वि.सं.२०८३ असोज २६ सोमवार १२:४५
shares

काठमाडौं, २६ असोज । ठूलो लगानीमा निर्माण गरिएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा यस क्षेत्रका व्यवसायी निराश बनेका छन् ।
विमानस्थल सञ्चालनमा आएपछि पर्यटकको चहलपहल बढ्ने र व्यापार व्यवसाय फस्टाउने आशामा होटल, रेस्टुरेन्ट तथा पर्यटन क्षेत्रमा लगानी गरेका व्यवसायी अहिले लगानीको प्रतिफल नपाएको गुनासो गरिरहेका छन् ।
सरकारले करिब ३६ अर्ब रुपैयाँ खर्च गरेर निर्माण गरेको विमानस्थल सञ्चालनमा आएको साढे चार वर्ष बितिसक्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । विमानस्थलमा पछिल्लो समय अन्तर्राष्ट्रिय उडानसमेत ठप्प हुँदा यसको उपयोगितामाथि प्रश्न उठ्न थालेको छ ।
विमानस्थल सञ्चालन हुने आशामा निजी क्षेत्रले पनि ठूलो रकम लगानी गरेको थियो । तर, नियमित उडान नहुँदा होटलमा पर्यटकको आगमन घटेको, यातायात व्यवसाय प्रभावित भएको र अन्य व्यापारिक गतिविधिसमेत सुस्ताएको व्यवसायीको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासंघका लुम्बिनी प्रदेश अध्यक्ष ठाकुरकुमार श्रेष्ठले विमानस्थल सञ्चालन हुने विश्वासमा निजी क्षेत्रले लगानी गरे पनि अपेक्षित प्रतिफल पाउन नसकेको बताएका छन् ।
व्यवसायीले विमानस्थल नियमित सञ्चालन गर्न सरकारसँग माग गर्दै आएका छन् । उनीहरूले विमानस्थलबाट उडान गर्न चाहने वायुसेवा कम्पनीलाई प्रोत्साहन गर्नुका साथै यात्रुलाई आवश्यक पर्ने सेवा र सुविधा उपलब्ध गराउनुपर्ने बताएका छन् ।
विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न भिसा सेवा, श्रमसम्बन्धी सेवा, स्वास्थ्य परीक्षण तथा अन्य आवश्यक संरचना व्यवस्थित गर्नुपर्ने माग पनि उठ्दै आएको छ ।
विमानस्थल सञ्चालन नहुँदा सरकारी लगानीको सदुपयोग हुन नसकेको मात्र नभई त्यसलाई आधार मानेर व्यवसाय विस्तार गरेका निजी क्षेत्रका लगानीकर्तासमेत समस्यामा परेका छन् ।
अब विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउन सरकारले ठोस योजना बनाएर नियमित उडानको व्यवस्था गर्नुपर्ने व्यवसायीको माग छ ।


















