Dhulikhel Eco Banner new

उपत्यकामा ग्यास साट्ने केन्द्र बढाइयो, अब ११ स्थानबाट सेवा

624
shares

काठमाडौं, २६ असोज । दसैंमा खाना पकाउने ग्यास पाउन उपभोक्तालाई सहज बनाउन काठमाडौं उपत्यकामा फरक कम्पनीका सिलिन्डर साट्ने केन्द्रको संख्या बढाइएको छ ।

नेपाल एलपी ग्यास उद्योग संघले सोमबारदेखि लागू हुने गरी केन्द्रको संख्या ६ बाट बढाएर ११ पुर्‍याएको हो । नेपाल आयल निगम र ग्यास विक्रेता महासंघसँगको समन्वयमा नयाँ व्यवस्था गरिएको संघले जनाएको छ ।

नयाँ व्यवस्थाअनुसार उपभोक्ताले आफूसँग भएको जुनसुकै कम्पनीको खाली सिलिन्डर दिएर तोकिएको केन्द्रबाट अर्को कम्पनीको भरिएको सिलिन्डर लिन सक्नेछन् । यसका लागि अतिरिक्त शुल्क तिर्नुपर्ने छैन । ग्यासको नियमित मूल्य भने बुझाउनुपर्नेछ ।

संघका अनुसार सोमबार थपिएका पाँच केन्द्रमा बुढानीलकण्ठको चपली, ललितपुरको हरिसिद्धि, कलंकी, खसीबजारस्थित आरके ट्रेडर्स र सतुंगल रहेका छन् ।

यसअघि ललितपुरको हरिसिद्धि, कलंकी, सुकेधारा, बालाजु औद्योगिक क्षेत्रको गेटअगाडि, पेप्सीकोला र सिफलचौरमा ग्यास साट्ने व्यवस्था गरिएको थियो ।

संघले तोकेका ११ केन्द्रबाट असोज ३० गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ४:३० बजेसम्म सिलिन्डर साट्न सकिने जनाएको छ । तोकिएका केन्द्रबाहेक अन्य स्थानमा भने यो सुविधा उपलब्ध हुने छैन ।

चाडपर्वका बेला ग्यास पाउन समस्या भएको र आफ्नो सिलिन्डरको ब्रान्ड नमिल्दा अर्को कम्पनीको ग्यास लिन नसकेको गुनासो आएपछि केन्द्र थपिएको हो ।

संघका अनुसार भारतका विभिन्न रिफाइनरीबाट ग्यास आयात भइरहेको छ । बजारमा ग्यास उपलब्ध भए पनि सिलिन्डरको ब्रान्ड नमिलेकै कारण उपभोक्ताले समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले यो व्यवस्था गरिएको हो ।