करिब २२ केजी सुन भन्सारलाई हस्तान्तरण
वि.सं.२०८३ असोज २६ सोमवार १३:४५
shares

काठमाडौं, २६ असोज । प्रहरीले बुढानीलकण्ठ नगरपालिका–२ स्थित माथिल्लो भंगालबाट बरामद गरेको २१ केजी ७५० ग्राम सुन त्रिभुवन विमानस्थल भन्सार कार्यालयलाई बुझाएको छ । म्याद लिएर अनुसन्धान गर्न भन्सार कार्यालयलाई सुन हस्तान्तरण गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले रातोपाटीलाई बताए ।
सुनसहित पक्राउ परेका ३ जना चिनियाँहरूमाथि भन्सार कार्यालयले म्याद लिएर अनुसन्धान सुरु गरेको छ । सुन कहाँबाट आयो र कहाँ जाँदैथियो भन्नेबारे प्रहरीले पनि अनुसन्धान गरिरहेको छ ।
सुनको ‘नेक्सस’ बारे आफ्नो टिमले पनि अनुसन्धान गरिरहेको एसएसपी खड्काले बताए । उनले भने– ‘कहाँबाट आयो र कहाँ जाँदै थियो भन्नेबारे हामीले पनि हेरिरहेका छौँ ।’
प्रहरीले असोज २२ मा बिहान सुन बरामद गरेको थियो । सुन सहित चिनियाँ नागरिकहरू २७ वर्षीय हान फेइ, चाउ लोङछिन र ३७ वर्षका वाङ जियानझेनलाई पक्राउ गरेको थियो ।
















