Dhulikhel Eco Banner new

दुई महिनामै जीवन बीमामा ४० अर्बभन्दा बढीको कारोबार, नेपाल लाइफको हिस्सा सबैभन्दा ठूलो

494
shares

काठमाडौं, २६ असोज ।  चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा जीवन बीमा कम्पनीहरूले ४० अर्ब रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गरेका छन् । नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी बीमाशुल्क संकलन गर्दै बजारमा आफ्नो अग्रता कायम राखेको छ ।

नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार साउन र भदौ महिनामा सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले कुल ४० अर्ब ५४ करोड १४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । लघु जीवन बीमा तथा वैदेशिक रोजगार म्यादी जीवन बीमासमेत जोड्दा कुल रकम ४१ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ ।

यस अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले १० अर्ब ५८ करोड ८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यो १४ जीवन बीमा कम्पनीले संकलन गरेको कुल बीमाशुल्कको करिब २६ प्रतिशत हो ।

बीमाशुल्क संकलनका आधारमा नेशनल लाइफ इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ । कम्पनीले दुई महिनामा ४ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ संकलन गरेको छ । त्यस्तै, राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ४१ करोड ४६ लाख रुपैयाँ संकलन गर्दै तेस्रो स्थान हासिल गरेको छ ।

यसैगरी, एलआईसी नेपालले ३ अर्ब ६७ करोड रुपैयाँभन्दा बढी र हिमालयन लाइफ इन्स्योरेन्सले ३ अर्ब ५९ करोड रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरूको कुल बीमाशुल्क संकलन अघिल्लो वर्षको सोही अवधिको तुलनामा बढेको छ । यसले जीवन बीमा व्यवसायमा आर्थिक वर्षको सुरुवाती महिनामै उल्लेख्य कारोबार भएको देखाउँछ ।

कम्पनीहरूले संकलन गर्ने बीमाशुल्कमा नयाँ बीमालेखबाट प्राप्त रकमसँगै पुराना बीमालेख नवीकरण गर्दा प्राप्त हुने रकमको पनि ठूलो योगदान रहेको छ ।

प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेशबाट सबैभन्दा बढी बीमाशुल्क संकलन भएको छ । समीक्षा अवधिमा बागमतीबाट १९ अर्ब ५७ करोड रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन भएको तथ्यांकले देखाएको छ ।

जीवन बीमा व्यवसायमा नेपाल लाइफको अग्रता कायम रहँदा अन्य कम्पनीबीच पनि बीमाशुल्क संकलन बढाउने प्रतिस्पर्धा देखिएको छ ।