अवरुद्ध गलकोट–ताराखोला सडक दुई सातापछि सञ्चालन
वि.सं.२०८३ असोज २७ मंगलवार १०:५४
shares

काठमाडौं, २७ असोज । बाढीले अवरुद्ध गलकोट–ताराखोला सडक दुई सातापछि अस्थायी रूपमा सञ्चालनमा आएको छ । असोज ११ गतेदेखि अवरुद्ध सडक असोज २७ गतेदेखि सञ्चालनमा आएको हो ।
गलकोट र ताराखोला गाउँपालिकाको सिमानामा पर्ने गाईघाट झरनानजिक सडकको ट्र्याक बगाउँदा यातायात सेवा ठप्प भएको थियो । दरमखोलामा आएको बाढीले सडकका विभिन्न भागमा क्षति पुर्याएको थियो ।
सडक अवरुद्ध हुँदा स्थानीयवासीलाई आवतजावत गर्न तथा दैनिक उपभोग्य सामग्री ढुवानीमा समस्या भएको थियो । ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विकका अनुसार हाल सडकमा अस्थायी रूपमा यातायात सञ्चालन गरिएको छ ।
सडक सञ्चालनमा आएसँगै गलकोट र ताराखोलाबीच आवतजावत गर्ने स्थानीयवासी, यात्रु तथा सवारीसाधनलाई सहज भएको छ ।


















