नेपाल धितोपत्र बोर्डमा जागिरको अवसर, सेवा करारमा सहायक निर्देशक माग
वि.सं.२०८३ असोज २७ मंगलवार ११:५५
shares

काठमाडौं, २७ असोज । नेपाल धितोपत्र बोर्डले सेवा करारमा कर्मचारी माग गरेको छ। बोर्डले स्थायी पदपूर्ति नभएसम्मको अवधिका लागि कामकाज गर्न कानुन सेवातर्फ सहायक निर्देशक (अधिकृत तृतीय श्रेणी) पदमा दरखास्त आह्वान गरेको हो।
बोर्डले आज सूचना प्रकाशित गर्दै योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त माग गरेको छ। यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिन सकिनेछ।
इच्छुक उम्मेदवारले बोर्डबाट निर्धारित दरखास्त फाराम रीतपूर्वक भरी आवश्यक कागजातसहित बोर्डको कार्यालयमा बुझाउन वा स्क्यान गरी [email protected] इमेलमार्फत पठाउन सक्नेछन्। दरखास्तसाथ शैक्षिक योग्यता, तालिम, अनुभव र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ। सरकारी, गैरसरकारी वा अन्य कुनै पनि संस्थामा कार्यरत उम्मेदवारले सम्बन्धित संस्थाको स्वीकृति पत्र अनिवार्य पेस गर्नुपर्नेछ।
उक्त पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट वाणिज्य कानुन मूल विषय लिई कानुनमा स्कोतकोत्तर (स्नातकोत्तर) उपाधि हासिल गरेको हुनुपर्नेछ। दरखास्त दिने अन्तिम मितिमा २१ वर्ष उमेर पूरा भई ३५ वर्ष ननाघेको तथा महिला र अपाङ्ग उम्मेदवारको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ। दरखास्त दस्तुर बापत दुई हजार रुपैयाँ बोर्डको लक्ष्मी सनराइज बैंक लिमिटेडको खातामा जम्मा गरी सोको प्रमाण इमेलमार्फत पठाउन सकिने बोर्डले जनाएको छ।


















