Dhulikhel Eco Banner new

नेपाली संघ–संस्थाको संयुक्त आयोजनामा ओस्लोमा मनाइयो बढादशैं

2.11K
shares

नर्वे, २५ अक्टोबर । नेपालीहरूको महान् पर्व विजयादशमी २०२६ को अवसरमा नर्वेको ओस्लोमा १६ वटा नेपाली संघ–संस्थाको संयुक्त आयोजनामा सामूहिक टीका तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार, २४ अक्टोबर २०२६ मा आयोजित उक्त कार्यक्रमको उद्देश्य प्रवासमा नेपाली कला, संस्कृति, परम्परा र पहिचानको संरक्षण गर्दै आपसी सद्भाव, एकता, भाइचारा, सहिष्णुता तथा पारस्परिक सम्मानलाई थप सुदृढ बनाउनु रहेको थियो । यही उद्देश्यका साथ १६ वटा नेपाली संघ–संस्था एकै स्थानमा भेला भएका थिए ।

कार्यक्रममा सहभागीहरूले समाजका अग्रज तथा मान्यजनको हातबाट रातो टीका र जमरा ग्रहण गर्दै नेपाली परम्पराअनुसार विजयादशमी मनाएका थिए । विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले दसैँको शुभकामना व्यक्त गर्दै प्रवासमा नेपाली समुदायबीच एकता, सहकार्य र आपसी सहयोगको महत्त्वमा जोड दिएका थिए ।

एनआरएनए नर्वेका महासचिव पशुपति प्रसाद भण्डारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा एनआरएनए नर्वेका अध्यक्ष श्रद्धा सिंह थापा, जेएसएसका वरिष्ठ उपाध्यक्ष पूर्ण शाही, नेपाली जनप्रगतिशील मञ्चका अध्यक्ष डिलाराम चापागाईं, नेपोसका अध्यक्ष प्रेम परियार, सामाजिक अभियन्ता तथा रागोसका प्रतिनिधि सिद्धान्त घले, नेवा समाजका प्रतिनिधि रूपेश श्रेष्ठ, प्रवासी नेपाली सम्पर्क विभागका सभापति जीवन उप्रेती, ओएनएफका प्रतिनिधि, तमु समाज नर्वे, तामाङ समाज नर्वे, नेस्को नर्वे, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, युरोप शाखाका ईमान सिंह बूढा मगर, मगर समाज नर्वेका महासचिव मोहन राना, हेल्पिङ ह्यान्ड फर नेपालका प्रतिनिधि, नेपालय क्लबसहित विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

त्यसैगरी, एनआरएनए नर्वेका युवा संयोजक प्रदीप पौडेल र सहकोषाध्यक्ष रीता परियारले कार्यक्रमलाई थप रोचक बनाउन भूमिका निर्वाह गर्नुभएको थियो । बालबालिका तथा सहभागीहरूको मनोरञ्जनका लागि बिङ्गो खेलसमेत आयोजना गरिएको थियो ।

कार्यक्रममा समाजका ज्येष्ठ नागरिक तथा उपस्थित महिला दिदीबहिनीहरूको हातबाट टीका ग्रहण गरिएको थियो । विभिन्न संघ–संस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता बालकृष्ण थापा, सल्लाहकार हरिकृष्ण तिमिल्सिना, नेपोस महासचिव पर्बता पन्थी गैरे,नेपालबाट पारिवारिक भेटघाटका लागि आउनुभएका कास्कीको माछापुच्छ्रे गाउँपालिका–लाहाचोक निवासी डिल्लीराम अधिकारी तथा पारिवारिक भेटघाटका क्रममा डेनमार्कबाट आउनुभएका रुकुम निवासी एक अतिथिले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

साँझ ७ बजेसम्म सञ्चालन भएको कार्यक्रममा करिब १०० जनाको सहभागिता रहेको थियो । प्रवासमा रहेका नेपालीहरूलाई एउटै स्थानमा भेला गराई आपसी सम्बन्ध प्रगाढ बनाउने तथा नयाँ पुस्तामा नेपाली संस्कृति र परम्पराप्रति अपनत्व जगाउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले सामूहिक एकताको सन्देश दिएको छ ।

नेपाली संघ संस्था र नेपाली समाज को सहयोगार्थ नेपाल हाउस रेस्टुरेंटले सर्व सुलभ र स्वादिष्ट नेपाली परिकार खाना उपलब्ध गराएको थियो । विभिन्न उद्देश्यका साथ स्थापना भएका संघ–संस्थाहरूले नेपालीहरूको राष्ट्रिय तथा सामाजिक चाडपर्व एउटै स्थानमा सामूहिक रूपमा मनाउँदा जात, धर्म, भाषा, संस्कृति र वर्गका आधारमा हुने विभेदभन्दा माथि उठेर विविधताभित्र एकता कायम गर्न सहयोग पुग्ने आयोजकहरूले बताएका छन् । यस्ता कार्यक्रमले आपसी प्रेम, सम्मान र भाइचाराको सम्बन्ध अझ प्रगाढ बनाउँदै सुन्दर समाज निर्माणमा योगदान पुर्‍याउने उनीहरूको भनाइ छ ।

“विविधतामा एकता, आपसी सद्भाव र नेपालीपन हाम्रो साझा पहिचान हो,” आयोजकहरूले भने । आगामी दिनमा पनि यस्ता सामूहिक नेपाली कार्यक्रमलाई निरन्तरता दिइने उनीहरूले बताएका छन् ।