Dhulikhel Eco Banner new

प्रतिकूल मौसमले विद्युत् आपूर्तिमा समस्या आउन सक्ने, सतर्क रहन प्राधिकरणको आग्रह

1.25K
shares

काठमाडौं,११ कार्तिक। नेपाल विद्युत् प्राधिकरणले कात्तिक १३ र १४ गते सम्भावित प्रतिकूल मौसमका कारण विद्युत् सेवा प्रभावित हुन सक्ने भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।

मौसम पूर्वानुमान महाशाखाले कात्तिक ९ गते जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार समुद्री क्षेत्रमा विकसित चक्रवातको प्रभावले नेपालका विभिन्न स्थानमा वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुन सक्ने सम्भावना छ। मौसममा आउने परिवर्तनसँगै बाढी, पहिरो, चट्याङ, हुरीबतास र डुबानको जोखिमसमेत बढ्न सक्ने देखिएको छ।

प्रतिकूल मौसमका कारण विद्युत्का पोल, प्रसारण तथा वितरण लाइन र ट्रान्सफर्मरमा क्षति पुग्न सक्ने भएकाले केही स्थानमा विद्युत् आपूर्ति अवरुद्ध हुन सक्ने प्राधिकरणले जनाएको छ।

सम्भावित क्षतिलाई न्यूनीकरण गर्न र विद्युत् सेवा प्रभावित भएमा छिटो मर्मत गरी आपूर्ति नियमित बनाउन सम्बन्धित कार्यालयलाई तयारी अवस्थामा रहन भनिएको छ। मौसमका कारण उत्पन्न हुन सक्ने समस्यालाई ध्यानमा राख्दै प्राविधिक टोलीलाई आवश्यक तयारीसहित परिचालन गर्ने व्यवस्था मिलाइएको प्राधिकरणको भनाइ छ।

प्राधिकरणले प्रतिकूल मौसमको समयमा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन तथा सम्भावित जोखिम भएका स्थानबाट टाढा रहन सर्वसाधारणलाई अनुरोध गरेको छ। साथै, विद्युतीय उपकरण प्रयोग गर्दा सावधानी अपनाउन र मौसमसम्बन्धी आधिकारिक सूचनालाई ध्यानमा राखेर आवश्यक सुरक्षा उपाय अपनाउन आग्रह गरेको छ।

विद्युत्का तार झरेको, पोल ढलेको वा अन्य विद्युतीय संरचनामा क्षति पुगेको देखिएमा नजिक नजान र तत्काल सम्बन्धित निकायलाई जानकारी गराउनसमेत प्राधिकरणले अनुरोध गरेको छ।

विद्युत् सेवा अवरुद्ध भएमा वा विद्युतीय संरचनामा समस्या देखिएमा उपभोक्ताले सम्बन्धित वितरण केन्द्रमा सम्पर्क गर्न सक्नेछन्।