Dhulikhel Eco Banner new

ग्यास किन्दा बिल नलिए कारोबार नगर्न आग्रह, व्यवसायीलाई पनि कडाइ

884
shares

काठमाडौं,११ कार्तिक। एलपी ग्यासको बिक्री वितरणलाई पारदर्शी र व्यवस्थित बनाउन ग्यास विक्रेता महासंघ नेपालले व्यवसायीलाई अनिवार्य रूपमा भ्याट बिल वा बीजक जारी गर्न आग्रह गरेको छ। महासंघले उपभोक्तालाई पनि ग्यास खरिद गर्दा बिल मागेर मात्रै कारोबार गर्न अनुरोध गरेको हो।

नेपाल आयल निगमले ग्यास बिक्री गर्दा उपभोक्तालाई अनिवार्य रूपमा बिल उपलब्ध गराउने व्यवस्था मिलाउन दिएको निर्देशनको स्वागत गर्दै महासंघले बुधबार यस्तो आग्रह गरेको जनाएको छ।

निगमको एलपी ग्यास तथा एभिएसन विभागले कात्तिक ९ गते सबै ग्यास उद्योगलाई पत्राचार गर्दै आफ्ना आधिकारिक बिक्रेतामार्फत उपभोक्तालाई बिल वा बीजक उपलब्ध गराउने व्यवस्था लागू गर्न निर्देशन दिएको थियो। ग्यास बिक्रीपछि बिल नदिने गरेको गुनासो बढेपछि निगमले यस्तो कदम चालेको हो।

महासंघका अनुसार ग्यास कारोबारलाई पारदर्शी र व्यवस्थित बनाउन अनिवार्य बिल प्रणाली महत्त्वपूर्ण छ। यसले बिक्रीको अभिलेख व्यवस्थित राख्न, कारोबारमा पारदर्शिता बढाउन र उपभोक्ताको अधिकार संरक्षण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

महासंघले यसअघि पनि ग्यासको बिक्री वितरणलाई व्यवस्थित बनाउन नेपाल आयल निगमलाई विभिन्न सुझाव दिँदै आएको जनाएको छ। अनिवार्य बिल जारी गर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन भएमा ग्यास कारोबारमा हुने अनियमितता नियन्त्रण गर्नसमेत मद्दत पुग्ने महासंघको विश्वास छ।

महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले सबै ग्यास व्यवसायीलाई निगमको निर्देशन पूर्ण रूपमा पालना गर्न आग्रह गरेका छन्। उनले उपभोक्तालाई पनि ग्यास खरिद गर्दा बिक्रेतासँग बिल माग्न र बिल प्राप्त भएपछि मात्रै कारोबार पूरा गर्न अनुरोध गरेका छन्।

ग्यास खरिद गर्दा बिल लिने बानीले उपभोक्तालाई आफूले तिरेको रकमको प्रमाण सुरक्षित राख्न सहयोग पुग्छ। साथै, मूल्य वा कारोबारसम्बन्धी समस्या देखिएमा सम्बन्धित निकायमा गुनासो गर्न पनि सहज हुने भएकाले महासंघले बिल लिने अभ्यासलाई प्राथमिकता दिन आग्रह गरेको हो।

अनिवार्य बिल प्रणालीलाई ग्यासको बिक्री वितरणमा पारदर्शिता कायम गर्ने र व्यवसायी तथा उपभोक्ता दुवैको हित संरक्षण गर्ने महत्त्वपूर्ण कदमका रूपमा महासंघले लिएको छ।