Dhulikhel Eco Banner new

तिहारमा ४८ करोडको फूलमाला कारोबार हुने, माग धान्न आयातकै भर

572
shares

काठमाडौं,११ कार्तिक।नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै बजारमा फूलमालाको माग बढ्न थालेको छ। यस वर्ष तिहारका पाँच दिनमा देशभर करिब ५२ लाख फूलमाला खपत हुने र त्यसबाट झन्डै ४८ करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ।

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष राजेशभक्त श्रेष्ठका अनुसार तिहारमा सबैभन्दा बढी सयपत्री फूलको माला खपत हुनेछ। स्वदेशी उत्पादन विस्तार हुँदै गए पनि बजार व्यवस्थापन र भण्डारणको अभावका कारण फूलको माग पूरा गर्न आयातमा निर्भरता कायमै रहेको व्यवसायीहरूको भनाइ छ।

सयपत्रीको माग सबैभन्दा बढी

फ्यानको प्रक्षेपणअनुसार यस वर्ष तिहारमा करिब ४५ लाख सयपत्री माला खपत हुनेछन्। प्रतिमाला औसत ९० रुपैयाँ थोक मूल्यका आधारमा सयपत्रीबाट मात्रै ४० करोड ५० लाख रुपैयाँको कारोबार हुने अनुमान छ। खुद्रा बजारमा भने गुणस्तरअनुसार एउटा मालाको मूल्य १५० देखि २०० रुपैयाँसम्म पर्न सक्नेछ।

त्यस्तै, ६ लाख मखमली मालाबाट २ करोड ७० लाख रुपैयाँ, २० हजार गोदावरी मालाबाट २ करोड ४० लाख रुपैयाँ र ६० हजार मिश्रित फूलका मालाबाट २ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ।

५४ जिल्लामा व्यावसायिक फूलखेती

नेपालमा पछिल्लो समय व्यावसायिक पुष्पखेती विस्तार हुँदै गएको छ। हाल ५४ जिल्लामा करिब २५० हेक्टर क्षेत्रफलमा फूलखेती भइरहेको छ। यस क्षेत्रमा १ हजार १४५ भन्दा बढी व्यवसायी संलग्न रहेको र प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ५० हजारभन्दा बढीले रोजगारी पाएको विवरण छ।

आर्थिक वर्ष २०८२/८३ मा पुष्प व्यवसायको वार्षिक कारोबार करिब ३ अर्ब २७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको २ अर्ब ९४ करोड रुपैयाँको तुलनामा यो करिब १२ प्रतिशतको वृद्धि हो।

व्यवसायीका अनुसार मखमली र गोदावरी फूलमा नेपाल आत्मनिर्भर बनिसकेको छ भने सयपत्रीको माग पनि स्वदेशी उत्पादनले ठूलो हिस्सा धान्ने अवस्था बनेको छ।

फूल आयातमा बढ्दो खर्च

स्वदेशी उत्पादन बढ्दै गए पनि फूल तथा पुष्पजन्य वस्तुको आयातमा उल्लेख्य रकम बाहिरिने गरेको छ। भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा यस्तो आयात २८ करोड २३ लाख ७२ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा २० करोड ७ लाख रुपैयाँको आयात भएको थियो।

यस अवधिमा नेपालबाट भने १५ लाख ७८ हजार रुपैयाँ बराबरको मात्रै फूल निर्यात भएको विवरण छ। उत्पादन बढे पनि व्यवस्थित बजार सञ्जाल, ढुवानी र शीतभण्डारको अभावले स्वदेशी फूलले सबै माग धान्न कठिन भइरहेको व्यवसायीहरूको भनाइ छ।

जावलाखेलमा गोदावरी फूल मेला

स्वदेशी फूलको प्रवर्द्धन र बजार विस्तार गर्ने उद्देश्यले फ्लोरिकल्चर एसोसिएसन नेपालले कात्तिक १२ देखि १६ गतेसम्म ललितपुरको जावलाखेल मैदानमा ‘१९औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी तथा व्यापार मेला’ आयोजना गर्ने भएको छ।

मेला संयोजक एवं फ्यानका उपाध्यक्ष सुमन महर्जनका अनुसार प्रदर्शनीमा व्यावसायिक तथा सेल्फीसम्बन्धी गरी ८८ वटा कक्ष रहनेछन्। मेलामा ४५० प्रजातिका फूल तथा बिरुवा प्रदर्शन गरिने र करिब ३९ हजार अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको छ। पाँच दिनसम्म सञ्चालन हुने मेलाबाट करिब ३ करोड रुपैयाँको कारोबार हुने आयोजकको अनुमान छ।

शीतभण्डार र बजार व्यवस्थापनमा चुनौती

फूलखेतीप्रति किसानको आकर्षण बढे पनि उचित मूल्य, बजार व्यवस्थापन, आधुनिक प्रविधि र शीतभण्डारको अभाव प्रमुख चुनौतीका रूपमा देखिएका छन्। समयमै ढुवानी तथा भण्डारणको व्यवस्था नहुँदा किसानले उत्पादन गरेको फूल बिग्रिने वा कम मूल्यमा बिक्री गर्नुपर्ने अवस्था आउने गरेको व्यवसायीहरू बताउँछन्।

पुष्प व्यवसायलाई थप व्यवस्थित बनाउन पुष्प व्यवसाय नीति, २०६९ लाई समयानुकूल परिमार्जन गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्ने, गुणस्तरीय बीउबिजन तथा प्रविधि उपलब्ध गराउनुपर्ने र स्थानीय तहमा शीतभण्डार स्थापना गर्नुपर्ने माग व्यवसायीहरूले अघि सारेका छन्।

स्वदेशी उत्पादनको प्रवर्द्धनसँगै बजार व्यवस्थापनमा सुधार गर्न सके तिहारमा नेपाली फूलको खपत बढाउनुका साथै आयातमा बाहिरिने रकमसमेत घटाउन सकिने अपेक्षा गरिएको छ।