विपद् व्यवस्थापनका लागि नेपाललाई अमेरिकाले १५ करोड डलरभन्दा बढीका हेलिकोप्टर, ड्रोन र जलयान दिने
वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:०२
shares

काठमाडौं, १३ कार्तिक। संयुक्त राज्य अमेरिकाले नेपालको विपद् व्यवस्थापन तथा आपत्कालीन प्रतिकार्य क्षमता अभिवृद्धिका लागि १५ करोड अमेरिकी डलरभन्दा बढी मूल्यका अमेरिकी निर्मित हेलिकोप्टर, ड्रोन र नदीमा सञ्चालन हुने जलयान उपलब्ध गराउने भएको छ।
नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिन र नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देलबीच काठमाडौंमा भएको भेटवार्तापछि उक्त सहायता घोषणा गरिएको हो।
अमेरिकाले उपलब्ध गराउने उपकरणहरू प्राकृतिक विपद् तथा अन्य संकटका समयमा खोज तथा उद्धार, बिरामीको आपत्कालीन उद्धार (मेडिकल इभ्याकुएसन) र राहत वितरणमा प्रयोग गरिने जनाइएको छ। यी उपकरणको आपूर्ति आगामी वर्षदेखि सुरु हुने बताइएको छ।
यसअघि पनि अमेरिकाले नेपाललाई ३ करोड ८० लाख अमेरिकी डलर बराबरका एम२८ स्काइट्रक विमान उपलब्ध गराएको थियो। नयाँ सहायता त्यसैको निरन्तरताका रूपमा आएको हो।
नयाँ उपकरणको सहयोगले बाढी, पहिरो, भूकम्पलगायतका प्राकृतिक विपद्का समयमा प्रभावित क्षेत्रमा छिटो पुग्न, उद्धार कार्य सञ्चालन गर्न र आपत्कालीन राहत उपलब्ध गराउन नेपाली सेनाको क्षमता थप सुदृढ हुने अपेक्षा गरिएको छ।




















