Dhulikhel Eco Banner new

आईजीपी कार्कीलाई हटाउने तयारीबारेका समाचार निराधार : नेपाल प्रहरी

572
shares

काठमाडौं,१३ कार्तिक। नेपाल प्रहरीले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने तयारी भइरहेको भन्ने समाचारको खण्डन गरेको छ। प्रहरीले त्यस्ता समाचारलाई निराधार हल्ला भन्दै भ्रममा नपर्न आग्रह गरेको छ।

प्रहरी समन्वय समितिको आकस्मिक चार घण्टा लामो बैठकमा यस विषयमा छलफल भएको थियो। बैठकले प्रहरी नेतृत्व परिवर्तनको तयारी भइरहेको भन्ने दाबीलाई भ्रामक भन्दै सामूहिक रूपमा खण्डन गर्ने निर्णय गरेको हो।

बैठकमा आईजीपी कार्कीले प्रहरी अधिकारीहरूलाई यस्ता समाचारबाट प्रभावित नहुन आग्रह गरेका थिए। वरिष्ठ प्रहरी अधिकारीहरूले पनि भ्रामक सूचना र हल्लाको पछि नलागी संगठनको एकता कायम राख्ने प्रतिबद्धता जनाएका छन्।

बैठकमा इनम सापकोटासँग सम्बन्धित अनुसन्धानका गोप्य विवरण सार्वजनिक भएको विषयमा समेत छलफल भएको थियो। गोप्य सूचना चुहाउने कार्यमा संलग्न व्यक्तिहरूको पहिचान गरी अनुसन्धान गर्ने सहमति भएको प्रहरीले जनाएको छ।